झापा । झापाको विर्तामोडमा रहेको एक सहकारी कार्यालयको भवनलाई लक्षित गरी बम बिस्फोट भएको छ।

आइतबार मध्यरातमा विर्तामोडको चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

बिस्फोटका कारण सहकारी संस्थाको मुख्य भवनका सिसा फुटेका छन् । यस्तै सुरक्षा गार्ड बस्ने कोठामा क्षति पुगेको छ । सहकारीको कार्यालयमा रहेको नगदसहितका समान भने सुरक्षित रहेको जनाइएको छ ।

बिस्फोटको जिम्मा कुनै समूहले लिएको छैन । तर विगतमा यस्ता बिस्फोट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गर्ने गरेकाले यो घटनामा पनि उसकै संलग्नता रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।

हाल सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले बम बिस्फोटनमा संलग्न भएको आशंकामा दुईजनालाई पक्राउ गरेको छ । मध्य रातमै झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा पनि बम बिस्फोट भएको थियो ।

यसअघि झापाकै गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम बिस्फोट भएको थियो । आइतबार मध्यरातमा गाडीमा बम बिस्फोट भएको हो ।

राति साढे १२ बजेतिर गाडीलाई लक्षित गरी बम प्रहार हुँदा गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । बम बिस्फोटनबाट मानवीय क्षति वा चोटपटक भने लागेको छैन ।

Comments