काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन् । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमण लागि वाङ यी आइतबार साँझ नेपाल आइपुगेका हुन् ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा दुई मुलुकका परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय हितका विविध विषयमा छलफल हुने पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

उनले चीनको विकासबाट नेपालले बढीभन्दा बढी लाभ लिने गरी चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल केन्द्रित गर्ने नेपाल सरकारको योजना पनि बताए ।

विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । ती भेटहरुमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ ९बीआरआई०, चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

समकक्षी प्रदीप ज्ञवालीसँग भने चिनियाँ विदेशमन्त्री वाङको भेटवार्ता सोमबार हुने छ । परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्टलगायतका भौतिक संरचना, चीन(काठमाडौं रेलमार्ग निर्माणलगायतका विषयमा छलफल हुने एजेण्डा परराष्ट्रले तय गरेको छ ।

वाङको भ्रमण नेकपा सरकार गठन भएपछि चीनको तर्फबाट भएको उच्चस्तरीय भ्रमण हो । चिनियाँ राष्ट्रपति सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहेका वाङ यसअघि सन् २०१४ मा नेपाल आएका थिए ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण उपयुक्त समयमा हुने भनिए पनि मिति निश्चित भइसकेको छैन ।

Comments