काठमाडौं । आज निजामती दिवस। विविध कार्यक्रमका साथ १६औँ निजामती दिवस मनाइँदैछ।

यस वर्षको नारा ‘सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासन’ तय गरिएको छ । स्थानीय तह, प्रदेश र सङ्घमा गरी करिब ९३ हजार कर्मचारी कार्यरत छन्।

नेपालको निजामती प्रशासन सुशासनप्रति अझ प्रतिबद्ध र नतिजामुखी हुनुपर्ने विज्ञहरूले बताएका छन्। कर्मचारीले गुणस्तरीय सेवा दिएर आफ्ना कामकारबाहीबाट जनताको मन जित्नुपर्ने उनीहरले सुझाव दिएका छन्।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीले सेवाप्रति इमानदार, कर्तव्यप्रति निष्ठावान्, जनताप्रति उत्तरदायी, कानुनसम्मत रूपमा अगाडि बढ्नु नै निजामती सेवा दिवसको सफलता हुने बताउनुभएको छ ।

प्रशासनविज्ञ काशीराज दाहाल संविधानको मार्गचित्रभित्र रही प्रशासनले आमजनतालाई बिनाझन्झट समयमै गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभयो ।

अनुमानयोग्य कार्यप्रणाली, अधिकार दुरुपयोगको नियन्त्रण, अपराध रोकथाम, दण्डहीनता अन्त्य, जिम्मेवारी बोधजस्ता कुराबाट परिणाममुखी नतिजा दिन सक्नुपर्छ भन्दै उहाँले निजामती प्रशासनले आफ्ना कामकारबाहीबाट जनताको विश्वास र भरोसा बढाउन कर्मचारी प्रशासन जनमुखी र नतिजामुखी हुनैपर्नेमा जोड दिजुभयो ।

राज्यले नागरिकलाई आफ्नो उपस्थिति र न्यायमा आधारित प्रशासन प्रदान गर्न निजामती कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ। राज्यलाई नागरिकको घरदैलोसम्म पुर्याउने माध्यम नै निजामती सेवा हो। जनताले तिरेको करबाट निजामती प्रशासन चल्ने भएकाले कर्मचारीतन्त्र जनतामुखी होस् भन्ने अपेक्षा बढ्दो छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यमकुमारी खतिवडा पनि प्रशासनप्रति जनताको विश्वास कम भएको र जनतासँगको दूरी कम गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारको ऐनाका रूपमा चिनिने निजामती कर्मचारी सरकारको प्रमुख प्रशासनिक संयन्त्र हो।

कतिपय व्यक्तिले निजामती कर्मचारीको सेवा प्रवाह गर्ने प्रवृत्तिलाई सरकारप्रतिको धारणासमेत बनाउने गरेका छन्। अहिले निजामती कर्मचारीप्रति हेर्ने नागरिकको दृष्टिकोण सकारात्मक बन्न सकेको छैन ।

Comments