काठमाडौं । ६ वटा प्रदेशका मुख्यमन्त्रीहरुले चिनियाँ लगानीकर्ताहरुलाई आफ्नो प्रदेशमा लगानी गर्न आग्रह गरेका छन् ।

आज चीनका लागि नेपाली राजदूतावास र नेपाल चीन आर्थिक तथा वाणिज्य मञ्चले राजधानीमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्रीहरुले आफ्नो प्रदेशको लगानीको सम्भावनाहरु उल्लेख्य रहेको भन्दै त्यसमा गर्दै लगानी गर्न आग्रह गरेका हुन् । नेपालमा लगानीको सम्भावनाहरुको छलफलमा सहभागि हुनका लागि चीनका विभिन्न प्रान्तबाट ८० जनाको हाराहारीमा लगानीकर्ताहरु काठमाडौँ आएका छन् । मुख्यमन्त्रीहरुले आफ्नो प्रदेशको सम्भाव्य विकासका योजनाहरु, त्यसमा लाग्ने अनुमानित बजेट प्रस्तुत गर्दै वैदेशिक लगानी विना आफ्नो प्रदेशको समृद्धि सम्भव नभएको बताएका हुन् ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो प्रदेशमा ५ बर्षमा १२ खर्बको लगानीको सम्भावना रहेको उल्लेख गर्नुभयो । यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो प्रदेशले पञ्चवर्षीय, १० बर्षीय र २५ वर्षीय योजना बनाएको बताउनुभयो । आाफ्नो प्रदेशमा वैदेशिक लगानीको ढोका खोलेको उहाँको भनाई छ ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशमा लगानीको वातावरण निर्माणका लागि आवश्यक कानून, सुरक्षाको व्यवस्था गरेको बताउनुभयो । उहाँले प्रदेशले १० वटा स्थानीय तहलाई जोडेर बृहत विराट क्षेत्र बनाउन लागेको जानकारी दिनुभयो ।

सुदुपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदुपश्चिम प्रर्यटन, कृषि, जलविद्युत, जडिबुटी प्रशोधनलगायतका उद्योग सञ्चालनका लागि प्रचुर सम्भावनायुक्त क्षेत्र भएकाले आफ्नो प्रदेशमा लगानीका लागि आग्रह गर्नुभयो ।

यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा लगानी गर्ने प्रचुर क्षेत्रहरु रहेको भन्दै त्यसको उपयोगका लागि प्रदेश सरकारले छिट्टै लगानी सम्मेलन गर्न लागेको जानकारी दिनुभयो ।

Comments

comments