काठमाडौं । भारतको महत्वकांक्षी अन्तरिक्ष अभियान चन्द्रयान–२ अन्तिम चरणमा आएर असफल भएको छ ।

चन्द्रयान–२ को विक्रम ल्याण्डर नेपाली समय अनुसार शनिबार बिहान पौने दुई देखि पौने तीन बजेको बिचमा चन्द्रमाको सतहमा अवतरण गर्नु पर्ने थियो ।

तर चन्द्रयान–२ को विक्रम ल्याण्डरको सम्पर्क बैंग्लोरमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरों को नियन्त्रण कक्षसँग अवतरणको केही समय पूर्व टुटेको हो ।

भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धी प्रत्यक्ष अवलोकन गर्न र हौसला बढाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदी बैंग्लोरमा रहेको इसरोको मुख्यालयमा जानुभएको थियो । प्रधानमन्त्री मोदीले इसरोका अध्यक्षसहित उहाँको वैज्ञानिक टिमलाई निराश नहुन सान्त्वना दिनुभएको थियो ।

इसरोका अध्यक्षले वक्तव्य जारी गरेर इसरोसँग चन्द्रयान २ को सम्पर्क टुटेको जानकारी दिनुभएको हो ।

विक्रम ल्याण्डरलाई पहिलो चन्द्रमाको कक्षमा रहेको अर्बिटरबाट अलग गर्नु पर्ने थियो र त्यसपछि सतह तर्फ लैजानु पर्ने थियो । ल्याण्डरमा रहेको प्रज्ञान नामक रोबर अवतरणपछि बाहिर निकाल्ने योजना थियो । चन्द्रयान–२ लाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारी गरिएको थियो ।

Comments