काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाईल फोनमा समेत संवाद नगर्न सचेत गराउनु भएको छ ।

मन्त्री भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनी दिनु भयो । ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले कुनै पनि दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्ने स्पष्ट पार्नुभयो ।

मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्बिर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कारबाही गर्न पनि विमानस्थलका नेतृत्वलाई कडा निर्देशन दिनु भयो । विमानस्थलका अनुशासनहिन कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सीसीटिभी क्यामेराको थप व्यवस्था गर्ने पनि मन्त्री भट्टराईको योजना छ । मन्त्री भट्टराईले विमानस्थल मुलुकको ईज्जतसँग जोडिएकाले पनि यहाँका कर्मचारीहरु बढि अनुशासित हुनुपर्ने बताउनु भयो ।

मन्त्री भट्टराईले सेवाग्राहीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको व्यवहारप्रति नकारात्मक टिप्पणी गर्ने गरेकाले सरकारले त्यसमा सुधार ल्याउन प्रशिक्षण कार्यक्रम शुरु गरिएको पनि स्पष्ट पार्नु भयो ।

Comments