कास्की । निरन्तर जनप्रतिनिधिको मात्रै सेवासुविधा बढाएर चर्चामा रहेको गण्डकी सरकारले कर्मचारीलाई सरकारी पैसामा घुम्न जाने व्यवस्था मिलाएको छ। प्रदेश सरकारले सबै कर्मचारीलाई परिवारसहित घुम्ने व्यवस्था मिलाइदिएको हो।

आफ्नो जिम्मेवारीप्रति प्रतिबद्घ बनाउन तथा आन्तरिक तथा ग्रामीण पर्यटने प्रवद्र्धन र विकासका लागि कर्मचारीलाई घुम्न बजेट छुट्याइएको हो। चालु वर्षमै खर्च हुने गरी सरकारले ९० लाख रुपैयाँ छुट्याएको छ। सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्षको रूपमा मनाइरहेको सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ। त्यसमै टेवा पुग्ने गरी कर्मचारीलाई घुम्ने पैसा छुट्याइएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले बिदा पर्यटनसम्बन्धी कार्यविधि पारित गरेको छ।

‘बढीमा एक हप्तासम्मको काज बिदा पाउँछन् । पर्यटनकै माध्यमबाट कर्मचारीलाई उत्प्रेरित गर्न र आन्तरिक तथा ग्रामीण पर्यटन प्रबद्र्धन गर्न यो व्यवस्था गरिएको हो,’ कार्यविधिमा भनिएको छ। बस्नेतका अनुसार कर्मचारी भ्रमणमा जाँदा परिवारको कम्तीमा एक सदस्यलाई पनि सँगै लैजानुपर्ने छ। ‘प्रदेश सरकारले नै तोकेको होमस्टे वा नेपाल सरकारले पहिचान गरेका पर्यटकीय स्थलमा मात्रै जान पाइने छ,’ बस्नेतले भने, ‘त्यो पनि प्रदेशभित्रकै ठाउँ हुनुपर्छ। बिदा पर्यटनमा जाँदा व्यक्तिगत वा सामूहिक पनि जान सकिनेछ।’

सबै कर्मचारीले आफू कार्यरत कार्यालय रहेको गाउँपालिका वा नगरपालिकाभन्दा भिन्न ठाउँमा जानुपर्ने छ भने कर्मचारीले आफू जान चाहेको ठाउँको सिफारिस पहिले नै जानकारी गराउनु पर्नेछ।

गण्डकी प्रदेशमा १ हजार ७ सय ५२ जना कर्मचारी छन्। प्रदेशमा कूल कर्मचारी दरबन्दी भने २ हजार एक सय २८ छ। सबै कर्मचारीले घुम्न जानका लागि एक महिनाको थप तलब बोनस पाउने छन्। बिल भरपाई समेत बुझाउन नपर्ने गरी पैसा खर्च गर्ने व्यवस्था मिलाइएको सरकारले जनाएको छ। तर, कर्मचारीले यही रकमबाट दुई गन्तव्यको भ्रमण गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

Please follow and like us:

Comments