काठमाडौं । सांसद खेमकुमार विकले रवि लामिछानेको पक्षमा भइरहेको जुलुस र प्रदर्शनका पछाडि कुन शक्ति केन्द्रको हात छ ? भन्दै प्रश्न गरेका छन् ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विकले भने– ‘आज प्रधानमन्त्रीको पुतला दहनदेखि गृहमन्त्रीको राजीनामा माग गर्दै आन्दोलन भइरहेको छ । उच्चारण गर्न नसकिने शब्दका नारा लगाइन्छ, यसका पछाडि कुन शक्ति केन्द्रको हात छ ? कसको आडमा आन्दोलन भइरहेको छ रु छानविन होस्’– उनले भने ।

रविका नाममा गणतन्त्र र व्यवस्था विरोधीहरुले आन्दोलन गरिरहेको भन्दै उनले देशमा हिंसा भड्काउन खोजिएको बताए ।

राज्यले कानुनको सहायताले सबै नागरिक उपर छानबिन गर्न पाउने पनि उनले बताए । ‘ कानुनको सहायताले राज्यले सबै नागरिकलाई छानवीन गर्न पाउँछ, जीउ धनको सुरक्षा गर्ने राज्यको दायित्व हो, यसमा किन विरोध ? उनले प्रश्न गरे ।

आत्महत्या गर्नेको संख्या बढेको भन्दै उनले त्यसमा राज्यले छानविन गर्न पाउनुपर्ने पनि बताए ।

उनले रविको पक्षमा भएको आन्दोलनको आफूले प्रत्यक्ष देखेको पनि बताए । ‘हिजो माइतीघरबाट सिंहदरबार बबरमहल हुँदै निषेधित क्षेत्र तोड्दै उत्तेजित नारा लगाइएको थियो । यहाँ ती नारा उच्चारण गर्न जरुरी छैन । त्यो प्रदर्शन सिंहदरबारको निषेधित क्षेत्रमा आइपुग्दा एक जना आन्दोलनकारीले वियरका चारवटा बोतल लुकाएर राखेको देखे, त्यसमा प्रेट्रोल हुन सक्छ, मैले प्रहरीलाई खबर गरे, त्यसले दुर्घटना टर्‍यो,विकले भने ।

उनले गरिब तथा जेहन्दार छात्रावृतिको कुरा पनि उठाएका थिए । उनले राजनीतिक दल, नेता कार्यकर्ता, प्रशासक र ठूलाबडका छोराछोरीले पाएको सुन्नमा आएको भन्दै सरकारको ध्यानाकार्षण गराए ।

Comments