एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको यो सिजनको आफ्नो पहिलो खेलमा ओल गुनार सोल्सकेएरको टिम म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि ४–० को जित निकालेको छ।

पहिलो हाफमा एक गोल गरेको युनाइटेडले दोस्रो हाफमा तीन गोल थपेको हो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई जिताउन मार्कस राश्फोर्डले दुई तथा एन्थोनी मार्सल र ड्यानिएल जेम्सले एक–एक गोल गरेका हुन् ।

१८ औँ मिनेटमा पाएको पेनाल्टीमा राश्फोर्डले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । ६५ औँ मिनेटमा मार्सल तथा ६७ औँ मिनेटमा राश्फोर्डले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडको अग्रता ३–० मा पुग्यो । ८१ औँ मिनेटमा जेम्सले गोल गरेर टिमको ४–० को जित निश्चित गरे ।

म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा प्रिमियर लिगमा सन् १९६५ यताकै सबैभन्दा फराकिलो जित दर्ता गरेको हो।

भ्रमण टोली चेल्सीका लागि भने यो सिजनको सुरुवात निकै खराब रह्यो । उसले दोस्रो हाफमा लगातार गोल खायो । प्रशिक्षकका रुपमा प्रिमियर लिगमा फ्र्यांक लाम्पार्डको सुरुवात राम्रो रहेन ।

चेल्सीको प्रशिक्षणको जिम्मा क्लबका पूर्व खेलाडी लाम्पार्डले सम्हालेका छन्।

Comments

comments