काठमाडौं । पछिल्लो समय सुनको मूल्य बढेसँगै नेपाली बजारमा सुनको कारोबार प्रभावित भएको छ । सुनको मूल्य इतिहासकै महँगो हुँदा विक्री भने घटेको व्यवसायीहरुको भनाइ छ ।

एक महिनामा प्रतितोला ५ हजार ३ सय रुपैयाँ बढेर सुनको मूल्य ७० हजार रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार अहिले दिनमा एक किलो पनि सुन विक्री हुँदैन । महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सुनको कारोबार ठप्प जस्तै रहेको बताउनुभयो । यसअघि सुन चाँदी व्यवसायीहरुले बैंकबाट दैनिक २० केजीसम्म सुन उठाउँने गरेको उहाँले बताउनुभयो । सुन किन्ने ग्राहक घट्दा बैंकमा हाल करिब ७ सय किलो सुन थुप्रिएको छ । सरकारले काँचो सुन आयात र कारोबारको जिम्मा वाणिज्य बैंकहरुलाई मात्र दिएको छ ।

बैंकरहरुले सुन खरिदका लागि व्यवसायीसँग छलफल पनि गरेका छन् । तर बजारमा कारोबार नै नभएपछि समस्या भएको बरिष्ठ उपाध्यक्ष शाक्यले बताउनुभयो ।
यसैबीच सुन चाँदी व्यवसायी महासंघले सुन धितो राखेर ऋण नदिन आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ । मूल्य अस्थीर रहेकाले व्यक्तिगत कारोबारमा जोखिम उच्च भएको भन्दै महासंघले सुन धितोमा नराख्न सर्कुलर जारी गरेको हो ।

व्यवसायीहरुले ग्राहकसँग लिएको सुन धितोमा राखेर बैंकबाट ऋण पनि लिने गरेका थिए । तर सुन धितोमा दिने ऋणमा हुने जोखिमलाई ध्यान दिँदै राष्ट्र बैंकले कडाइ गरेको छ ।

Comments

comments