काठमाडौं । प्रि–सिजन अन्तर्गतका मैत्रीपूर्ण खेलमा खासै राम्रो प्रदर्शन गर्न नसकेको र कम्युनिटी शिल्डमा पनि पराजित भएको लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा भने शानदार सुरुवात गरेको छ ।

प्रिमियर लिगको नयाँ सिजन शुक्रबार रातिदेखि सुरु भयो । घरेलु मैदानमा भएको खेलमा साबिक उपविजेता लिभरपुलले बढुवा भएर आएको नर्विच सिटीलाई ४–१ ले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहम्मद सालह, भर्जिल भान डिजेक र डिभोक ओरिजीले गोल गरे । उसले गोलको सुरुवात भने उपहार गोलबाट गरेको हो । नर्विचका ग्रान्ट हेन्लीले सातौँ मिनेटमा नै आत्मघाती गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

डिभोक ओरिजीको क्रस बललाई नियन्त्रण गर्ने क्रममा उनले आत्मघाती गोल गरेका हुन् । यो सिजन प्रिमियर लिगमा गोलको सुरुवात आत्मघाती गोलबाट भएको हो ।

त्यसपछि १९ औँ मिनेटमा सालह, २८ औँ मिनेटमा भान डिजेक तथा ४२ औँ मिनेटमा ओरिजीले गोल गरेपछि लिभरपुलले पहिलो हाफमै ४–० को अग्रता लियो । नर्विचले दोस्रो हाफमा एक गोल फर्कायो । उसका लागि ६४ औँ मिनेटमा तीमू पुकीले गोल गरेका हुन् ।

गएको सिजन उपाधिबाट एक अंकले मात्रै वञ्चित हुन बाध्य लिभरपुल यो सिजन पूरा तयारीका साथ उपाधि होडमा फर्किएजस्तो उसको खेलबाट देखिन्छ ।

Comments

comments