• सुष्मी कंडेल (शैक्षिक परामर्शदाता )

पछिल्लो समयमा आएर उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको लहर बढेको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया उत्कृष्ट गन्तव्य हो ।

विश्वव्यापी मान्यता पाएकाले अष्ट्रेलियाको शिक्षालाई गुणस्तरीय मानिन्छ । त्यहाँ जाने विद्यार्थी मध्ये नेपाल तेस्रो मुलुकका रुपमा पर्छ । वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर) लिने विद्यार्थी मध्ये अष्ट्रेलियानै जाने बढी देखिन्छन् । खोजेको शिक्षा र रोजेका अवसर पाइने भएकाले पनि आकर्षण बढेको छ । नर्सिङ, इञ्जिनियरिङ, आइटी, हस्पिटालिटि, बिजनेश, पब्लिक हेल्थ, म्यानेजमेन्ट अध्ययन गर्न जाने बढी छन् । स्थायी बसोबास गर्न र व्यावसायिक कामकाज गर्ने सोच लिएर गएको पाइन्छ । श्रम कानुन अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीले हप्तामा २० घण्टा काम गर्न पाउँछन् । विदाको दिन पुरै काम गर्ने छुट छ । जसले पढ्ने विद्यार्थीलाई कमाउने अवसर पनि दिएको छ ।

अध्ययन भिसा भनेको त्यहाँको कलेज तथा विश्वविद्यालयमा भर्ना हुने प्रक्रिया हो । आइएलटिएसमा न्यूनतम ६ अंक ल्याएको हुनुपर्छ । तर, भाषा टेष्टको नियम कलेज, युनिर्भसिटी, कोर्ष अनुसार फरक हुन्छ । सर्टिफिकेट, भाषा रिजल्ट, अनुभवको प्रमाणपत्र सहित पठाइएको आवेदन फाराम स्वीकार भएपछि मात्रै अफर लेटर आउँछ । त्यसपछि विद्यार्थी जानका लागि योग्य ठहरिन्छ। सम्पूर्ण खर्च बेहोर्न सक्ने गरि निर्धारित बैंकमा रकम जम्मा भएको देखाउनुपर्छ । विद्यार्थीले जानेआउने, पढ्न, खानाबस्न सबै खर्च व्यवस्थापन गरेको सुनिश्चित गर्न यो व्यवस्था लागु भएको हो । सामान्यतया अष्ट्रेलिया जान १० देखि ३० लाखसम्म खर्च लाग्छ । ३५–४० लाख बैंक व्यालेन्स देखाउनुपर्छ ।

अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीले ‘काम पाइएन, ट्रेन भाडा समेत तिर्न सकिएन’ भनेर गरेका गुनासा मिडियामा आएका पनि छन् । पढ्न भनेर गएकाले काम पाइएन भनेर गुनासो गर्नुको औचित्य छैन जस्तो लाग्छ । बरु कलेज तथा विश्वविद्यालयको पढाई राम्रो छ वा छैन भन्ने बहस चल्नु ठिक हुन्थ्यो । कन्सल्टेन्सीले कसैको भीसा लगाइदिने होइन, उसले केवल ‘एप्लाई’ गर्न सहजीकरण मात्रै गरिदिने हो । विद्यार्थी, अभिभावक स्वयम् चनाखो हुनु अतिआवश्यक छ । विश्वविद्यालय तथा विषय छनौट, भविष्यमा सम्बन्धित विषयको सम्भावना, खर्च व्यवस्थापनका बारे उचित परामर्श लिन शैक्षिक परामर्श संस्था वा अनलाइनको सहारा लिन सकिन्छ । यी सबै प्रक्रिया पुरा गरेर नेपाली विद्यार्थी अष्ट्रेलिया पुग्छ ।

वर्षेनी झण्डै १२ हजार नेपाली अष्ट्रेलिया पुग्छन् । उत्कृष्ट जीवनशैली, शिक्षाको उचित गन्तव्य, रोजगारीको राम्रो अवसर, सहज भीसाका कारण आकर्षण बढेको सहजै अनुमान लगाउन सकिन्छ । नेपाल र अष्ट्रेलियाको हावापानी मिल्दोजुल्दो छ । विद्यार्थीको आकर्षण बढेपछि नेपालमा शैक्षिक परामर्श संस्था (एजुकेशन कन्सल्टेन्सी) पनि खुल्ने क्रम बढेको छ । केही वर्ष यता अन्य देशका लागि परामर्श दिदै आएका ती संस्थाले अष्ट्रेलिया पठाउने गरी परामर्श दिन सुरु गरेका छन् । अष्ट्रेलियाका युनिर्भसटीको स्तर अनुसारको भर्ना, ट्युसटन, होस्टेलको शुल्क तोकिएका छन् । कन्सल्टेन्सीले ठग्यो भन्नु पहिल्यै जाने ठाउँको बारेमा बुझ्नु महत्वपूर्ण हुन्छ । पढ्ने विषयको छनौट, जाने ठाउँबारे जानकारी हुनुपर्छ ।

साथीभाईको लहलहैमा ‘जसरी पनि पठाइदिनुहोस्’ भनेर अष्ट्रेलिया जाने सोच बनाउँदा धेरैलाई समस्या परेका छन् । कम्तिमा दुई महिनासम्म धान्ने खर्चको व्यवस्थापन आँफैले गर्नेगरी तयारी हुनुपर्छ । अष्ट्रेलियामा पाइला राख्दैमा जागिर पाइने भन्ने हुदैन । सीप सिकेर नजानेलाई समस्या हुन्छ । त्यहाँको समाजसँग घुलमिल हुन अंग्रेजीमा सुधार गर्नुपर्छ । भाषामा कमजोरी भएमा घुलमिल हुन कठिन हुन्छ । अन्य देशको तुलनामा विद्यार्थीले धेरै सुविधा पाउने, पढाई खर्च कम लाग्ने भएकाले विद्यार्थीको ध्यान अष्ट्रेलियातर्फ मोडिएको हो ।

पढ्न जान लागेका छोराछोरीले कमाई गरुन् भन्ने सोच राख्नु राम्रो होइन । बरु, उच्च अंक सहितको नतिजा ल्याउन्, उत्कृष्ट शैक्षिक प्रमाणपत्र बनोस्, सीप सिकुन् भन्ने सोच अभिभावकले बनाउनुपर्छ ।विदेशमा पढेको शिक्षा र सीपलाई स्वदेशमा उपभोग गर्न सकियोस् भन्ने सोच लिनुपर्छ । तर, अष्ट्रेलिया जानु भनेको कमाउनैको लागि हो भन्ने गलत सोच अधिकाँसमा पाइन्छ । ‘पढेर उ आफ्नै देश फर्किन्छ’ भन्ने सोचलेनै विद्यार्थी भिसा सहज बनाइएको हो ।

डिपेण्डेण्ट भिसामा जान चाहनेलाई ‘कमाउने उद्देश्यले नै आउन थालेको’ सोचेरै केही कठिनता हुन्छन् । पढ्न जाने विद्यार्थी विवाहित भएमा सपरिवार जान पाउने गरी भिसा समेत दिने गरेको छ । यो अतिरिक्त सुविधा सरह हो । डिपेन्डेण्ट भिसाको सुविधा प्रयोग गर्ने धेरै छन् । परिवारका सदस्यले विद्यार्थी सँगै वा पछि आवेदन दिएर जाने सुविधा छ । मास्टर्स वा त्यो भन्दा माथिको शिक्षा लिदै गरेमा डिपेन्डेण्ट भिसामा गएकाले पूर्णकालिन काम गर्न पाउँछन् । अष्ट्रेलिया पुग्दैमा कुनै विद्यार्थी दक्ष बन्छ भन्ने होइन । उसले छनौट गरेको शिक्षण संस्था र गर्ने मिहेनतमा पनि भर पर्छ । नेपालबाट जाने विद्यार्थी सैद्धान्तिक ज्ञान भन्दा प्राविधिक शिक्षा लिन जाने गरेका छन् । अष्ट्रेलिया कमाउन होइन, पढ्न जाने हो । अभिभावकले छोराछोरी पठाउँदा कमाउनकै लागि पठाए सरह बुझ्नु गलत हो । विद्यार्थी भिसा पढ्न जाने गरी दिइने भिसा हो । त्यसैले बुझेर मात्रै अष्ट्रेलिया छिरौँ ।

पढाईका अतिरिक्त रोजगारीमा आवद्ध हुने कुरा पहिलो प्राथमिकता होइन । यति बुझ्न सके अनावश्यक खर्च हुने परिपाटी अन्त्य हुन्छ ।त्यसैले पढाईलाई प्राथमिकतामा राखेर आफ्नो जिन्दगी लाई सुखमय बनाउन तर्फ लाग्नुपर्छ। अष्ट्रेलिया पढिसकेपछि त्यहाँको ज्ञान,सीप,क्षमताअनी आफ्नो मिहेनत स्वदेश मै लगानी गर्नु उचित हुन्छ । स्काई संचार

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments