एजेन्सी । किर्गिस्तानका सुरक्षाकर्मीले पूर्व राष्ट्रपति अलमाज्बेक अताम्बेवलाई पक्राउ गर्न गरेको प्रयास असफल भएको छ । किर्गिस्तानका सुरक्षाकर्मीको समूह पूर्व राष्ट्रपति अताम्बेवलाई पक्राउ गर्न उनको घर पुगेको थियो ।

तर अताम्बेवका समर्थकहरुले सुरक्षाकर्मीलाई फिर्ता पठाएका हुन् । सुरक्षाकर्मी र अताम्बेवका समर्थकबिच केही बेर झडपको अवस्था सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। झडपको क्रममा गोली लागेर घाइते भएका एक सुरक्षा अधिकारीको निधन भएको जनाइएको छ ।

पूर्व राष्ट्रपति अताम्बेव अझै पनि आफ्नो निवास भित्रै रहेका छन् । अताम्बेवमाथि भ्रष्टाचारको आरोप छ, जसलाई उनले अस्वीकार गर्दै आएका छन् । संसदले गएको जुनमा उनीबाट सुरक्षा सुविधा खोसेको थियो ।

किर्गिस्तानको राष्ट्रिय सुरक्षा कमिटिले पूर्व राष्ट्रपति अताम्बेवलाई पक्राउ गर्न चलाइएको विशेष अभियानको क्रममा सुरक्षाकर्मीले रबरका गोली चलाएको दाबी गरेको छ । झडपको क्रममा सुरक्षाकर्मीसहित ३६ जना घाइते भएको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comments

comments