एजेन्सी । ब्राजिलका स्टार फरवार्ड ग्याब्रिअल जिजसलाई गत महिना घरेलु मैदानमा भएको कोपा अमेरिकाको फाइनलमा देखाएको असामान्य व्यवहारका कारण दक्षिण अमेरिकी फुटबल महासंघले दुई महिनाका लागि अन्तर्राष्ट्रिय खेलबाट प्रतिबन्ध लगाएको छ।

माराकाना रंगशालामा पेरुविरुद्ध एक गोल र एक असिस्ट गरेका जिजस रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए। १५औं मिनेटमा एभर्टन सोएरेसको गोलबाट अग्रता लिएको ब्राजिलका लागि निर्धारित समयको अन्तिम मिनेटमा रिचार्लिसनले तेस्रो गोल गर्दैै टोलीको जित सुनिश्चि गरेका थिए।

म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्दै आएका जिजस पेरुविरुद्ध बल खोस्ने क्रममा विपक्षी टोलीका खेलाडीमाथि फाउल गरपछि दोस्रो पहेँलो कार्डको सामना गर्नु परेको थियो।

मैदानबाट बाहिरिनुअघि रेफ्रीसँग विवाद गरेका कारण अमेरिकी फुटबल महासंघले प्रतिबन्ध लगाएको हो।

‘सम्बन्धित खेलाडीलाई दुई महिनाका लागि कुनै पनि मैत्रीपूर्ण तथा प्रतिस्पर्धात्मक खेल खेल्नका लागि प्रतिबन्ध गरिएको छ,’ महासंघद्वारा जारी वक्तव्यमा भनिएको छ।

जिजसलाई ३० हजार अमेरिकी डलर जरिवानासमेत गरिएको छ। यो प्रतिबन्धका दौरान उनले अर्को महिना हुने कोलम्बिया र पेरुसँगको मैत्रीपूर्ण खेल गुमाउने भएका छन्। यद्यपि आफ्नो बचाउ तथा स्पष्टिकरणका लागि अपिल गर्न जिजसलाई सात दिनको समय दिइएको छ।

जिजससँगै कोपा अमेरिकाको आयोजक तथा विजेता ब्राजिल फुटबल टोलीलाई पनि समर्थकले देखाएको अनुशासनहीन कार्यका लागि १५ हजार अमेरिकी डलर जरिवाना गरिएको छ।

महासंघले कोपा अमेरिकाको तेस्रो स्थानका लाग भएको अर्जेन्टिना र चिलीविरुद्धबीचको खेलमा रातो कार्डको सामना गरेका दुवै टोलीका कप्तान लियोनेल मेसी र गेरी मेडेललाई पनि प्रतिबन्ध तथा जरिवाना गरेको छ।

Comments