मेलबर्न । अष्ट्रेलिया स्थित नेपाली राजदूतावासले अब अस्थायी राहदानी जारि नगर्ने भएको छ । दूतावासले भाद्र १ गते तदनुसार १८ अगस्त २०१९ देखि लागु हुनेगरि उक्त निर्णय गरेको हो ।

अष्ट्रेलिया स्थित नेपाली राजदूतावासले अष्ट्रेलिया तथा प्रशान्त क्षेत्रमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई अष्ट्रेलियाको भिसालगायत अध्यागमन सहजताका लागि मात्र तत्काल राहदानी आवश्यक परेको अवस्थामा हस्तलिखित अस्थायी राहदानी (Temporary Passport) जारी गर्दै आएको छ । तर अस्थायी राहदानी वाहकहरुले विभिन्न समस्या झेल्नुपरेका गुनासाहरु बढेका कारण अस्थायी राहदानी बन्द गरिने बताइएको छ ।

अस्थायी राहदानी जारी नहुने सम्बन्धी अत्यन्त जरूरी सूचना

यस राजदूतावासबाट अष्ट्रेलिया तथा प्रशान्त क्षेत्रमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई अष्ट्रेलियाको भिसालगायत अध्यागमन सहजताका लागि मात्र तत्काल राहदानी आवश्यक परेको अवस्थामा हस्तलिखित अस्थायी राहदानी (Temporary Passport) जारी गरिँदै आएकोमा कतिपय अस्थायी राहदानीवाहकहरू जानकारीको अभावमा त्यस्तो राहदानीमा यात्रा गर्दा अष्ट्रेलियाको अध्यागमनमा, ट्रान्जिट मुलुकको अध्यागमनमा र नेपालको अध्यागमनमा समेत समस्यामा परेका गुनासाहरू प्राप्त भएका छन् । यस प्रकारका समस्याहरूलाई न्यूनीकरण गर्न एवम् नेपालले International Civil Aviation Organization (ICAO) मा गरेको प्रतिबद्धताअनुसार हस्तलिखित राहदानीलाई पूर्णरूपमा विस्थापित गरी यन्त्रवाचक राहदानी (Machine Readable Passport) मात्र जारी गर्न हाल जारी गरिँदै आएको अस्थायी राहदानी (Temporary Passport) आगामी २०७६ साल भाद्र १ गते तदनुसार १८ अगस्त २०१९ देखि जारी नहुने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यसै सूचनामार्फत अनुरोध गरिन्छ । साथै, अष्ट्रेलिया, न्युजिल्याण्ड तथा प्रशान्त क्षेत्रमा बसोबास गरिरहेका नेपाली नागरिकहरूले आफ्नो आवश्यकतालाई ध्यानमा राखी समयमा नै यन्त्रवाचक राहदानी (Machine Readable Passport) का लागि निवेदन दिन समेत अनुरोध गरिन्छ ।

नेपाली राजदूतावास
क्यानबेरा
२०७६ श्रावण २०
(५ अगस्त २०१९)

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments