काठमाडौ । कर्मचारीहरू विभिन्न कार्यक्रमको मेलोमेसो मिलाएर विदेश भ्रमण गरिरहेका हुन्छन्।

पछिल्लो एक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सबैभन्दा धेरैले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ। त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या अधिक छ। सो मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले विदेश भ्रमण गरे।

तीमध्ये चीन जानेको संख्या मात्र १ सय ४ छ। संघीय मन्त्रालयकै विवरणअनुसार अर्को छिमेकी मुलुक भारतमा एक वर्षमा १९ कर्मचारीले मात्र भ्रमण गरेका छन्। चीनपछि सबैभन्दा धेरै ४१ जना कर्मचारी जापान पुगेका छन्। जापानको क्षेत्रीय विकास, ग्रामीण विकास, विपद् नियन्त्रण, समुदायमा आधारित विकासलगायत शीर्षकमा सामान्य प्रशासन तथा स्थानीय तहका कर्मचारी तथा पदाधिकारीले जापान भ्रमण गरेका हुन्। यो सूचीमा कोरिया तेस्रो स्थानमा छ। कोरिया भ्रमण गर्ने कर्मचारीको संख्या २६ छ। थाइल्यान्ड ११, जर्मन आठ, मलेसिया पाँच, फिलिपिन्स पाँच, इन्डोनेसिया तीन, नेदरल्यान्ड, फिलिपिन, भियतनाम दुई÷दुई जनाले भ्रमण गरेको देखिन्छ। त्यस्तै दक्षिण कोरिया, स्विट्जरल्यान्ड, अमेरिका, न्युजिल्यान्ड, भुटान र अस्ट्रेलिया एक÷एकजना विदेश भ्रमणमा गएका छन्।

विदेश जानेमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसहित मन्त्रालयका उपसचिव, सहसचिव, शाखा अधिकृत, इन्जिनियर, नायब सुब्बासहितका कर्मचारी छन्। त्यस्तै स्थानीय हतका जनप्रतिनिधिहरूले पनि विदेश भ्रमण गरेका छन्। विदेश जानेमा नगरपालिकाका मेयर, उपमेयरका साथै गाउँपालिकाका उपाध्यक्षहरू पनि छन्। मन्त्रालयका अनुसार विदेश जानेमध्ये सबैभन्दा बढी शाखा अधिकृत छन्। यस अवधिमा सबैभन्दा धेरै ६४ जना अधिकृत भ्रमणका लागि विदेश गएका छन् भने प्रमुख प्रशासकीय अधिकृत ४६ जना छन्।

Comments