काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । दुई बर्ष अघि सम्म पहिलो चरणमा विज्ञानको मात्रै नतिजा सार्वजनिक गर्ने क्रमलाई अन्त्य गर्दै बोर्डले गत बर्षबाट सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न शुरु गरेको हो ।

सोमबार सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ जना रहेको छ । ३१ हजार विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरे भने २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३ जना रहेको छ ।

यस्तै २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७, १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९, १.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार रहेको छ भने ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन् । त्यसैगरी सबैभन्दा कम स्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना रहेका छन् ।

परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरी कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । नियमित तर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी मध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए प्राप्त गरेका हुन् ।

कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटमा गएर नतिजा हेर्न सकिने छ ।

यसैगरी नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

Comments

comments