काठमाडौँ । ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट यात्रामा रहनका लागि अति महत्वपूर्ण सिंगापुरसँगको खेलमा नेपालले १९२ रनको विशाल लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको सिंगापुरले ६ विकेटको क्षतिमा १९१ रन बनाएको हो ।

उसका लागि टिम डेविडले सर्वाधिक ७७ रन बनाए । उनले ४३ बलमा ८ चौका र तीन छक्काको सहयोगमा ७७ रन बनाएका हुन् । यस्तै रोहन रंगराजनले ३३ बलमा तीन चौका र चार छक्काको सहयोगमा ४९ तथा मनप्रीत सिंहले २७ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४२ रन बनाए ।

नेपालका अविनाश बोहराले चार विकेट लिए । यस्तै करण केसीले दुई विकेट लिएका हुन् । अविनाशले सिंगापुरका सर्वाधिक रनकर्ता टिम डेविडलाई ७७ रन बनाएको अवस्थामा आउट गरे ।

सिंगापुरमा जारी प्रतिस्पर्धामा नेपाली टोलीले घरेलु टोलीसँग प्रतिस्पर्धा गरिरहेको हो । यो खेल नेपालका लागि विश्वकप यात्राका लागि अति महत्वपूर्ण छ । ग्लोबल छनौटमा स्थान बनाउनका लागि सिंगापुर पनि प्रयासरत छ । तीन खेलबाट पाँच अंकसहित शीर्ष स्थानमा रहेको सिंगापुरसँग समान खेलबाट चार अंकसहित दोस्रो स्थानमा रहेको नेपालले प्रतिस्पर्धा गरिरहेको हो ।

पाँच देश सहभागी यो प्रतियोगिताको विजेता टिम ग्लोबल छनौटमा पुग्नेछ, आउँदो वर्ष हुने विश्वकपका लागि । ग्लोबल छनौट आउँदो अक्टोबर–नोभेम्बरमा युएईमा हुनेछ ।

एसियाली क्षेत्रको छनौटमा नेपाल, सिंगापुर, कतार, कुवेत र मलेसिया सहभागी छन् । कुवेत र मलेसियालाई पराजित गरेको नेपाली टोली कतारसँग पराजित भएको थियो ।

सिंगापुरसँगको खेल नेपालको भविष्य निर्धारक हुनेछ ।

Comments