एजेन्सी । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बलात्कार आरोपबाट मुक्त हुने भएका छन् । एक अमेरिकी महिलाले रोनाल्डोमाथि बलात्कारको आरोप लगाएकी थिइन् ।

आरोपका सम्बन्धमा अनुसन्धान गरेका अमेरिकी अधिकारीले रोनाल्डो विरुद्ध कुनै पनि कानूनी प्रक्रिया सुरु गर्नु पर्ने नदेखिएको बताएका छन् ।

३४ वर्षकी अमेरिकी महिला क्याथरिन मायोर्गाले युभेन्टसका खेलाडी रोनाल्डोले सन् २००९ मा लस भेगासको एक होटलमा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

ती महिलाले गएको असोजको दोस्रो हप्ता रोनाल्डोमाथि आरोप लगाएकी थिइन् । सुरुमा पत्रिका रोनाल्डोमाथि बलात्कार आरोपको खबर प्रकाशित भएको थियो । त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

सन् २०१० मा पोर्चुगिज स्टार खेलाडी रोनाल्डोसँग अदालति प्रक्रिया भन्दा बाहिर रहेरै ती महिलाले सहमति गरेको बताइन्छ । तर उनले सन् २०१८ मा पुनः आरोपका सम्बन्धमा कारवाही होस् भन्दै कानूनी प्रक्रिया सुरु गरेकी थिइन् । रोनाल्डोले सुरुदेखि नै सबै आरोप अस्वीकार गर्दै आएका थिए ।

रोनाल्डोमाथि लागेको आरोपका सम्बन्धमा अनुसन्धान गरेको लस भेगासका प्रहरी तथा कानूनी अधिकारीहरुले सोमबार आरोपका प्रमाणित हुने खालका कुनै पनि प्रमाण प्राप्त नभएको र आरोपकै सम्बन्धमा शंका देखिएको बताएका छन् ।

क्लार्क काउन्टी डिस्ट्रिक्टका न्यायाधीवक्ताको कार्यालयका अनुसार पीडितले सन् २००९ मा दुर्व्यवहारका सम्बन्धमा उजुरी दिएको तर घटना कहाँ भएको र पीडक को रहेको भन्ने खुलाउन अस्वीकार गरेकी थिइन्। जसका कारण प्रहरी अर्थपूर्ण अनुसन्धान गर्न असफल भएको न्यायाधीवक्ताको कार्यालयले जनाएको छ।

सन् २०१८ को अगस्टमा लस भेगास प्रहरीले आरोपित अपराधका सम्बन्धमा पीडितको आग्रहमा पुनः अनुसन्धान सुरु गरेको थियो । वक्तव्यमा भनिएको छ, ‘तर अनुसन्धान गरे पनि प्राप्त सूचनालाई पुनः यो समयमा पुनरावलोकन गर्दा क्रिष्टियानो रोनाल्डोमाथि लगाइएको बलात्कार आरोप कुनै पनि अवस्थामा प्रमाणित भएन । त्यसकारण उनीमाथि कुनै उजुरी दर्ता हुने छैन ।’

रोनाल्डोमाथि बलात्कार आरोप लगाउँदै गएको वर्ष जर्मन साप्ताहिक पत्रिका डेर स्पिइगलले पहिलो पटक खबर प्रकाशित गरेको थियो ।

सन् २०१० मा ती महिलाले रोनाल्डोसँगबाट तीन लाख ७५ हजार अमेरिकी डलर लिएर अदालत बाहिर नै मुद्दा सल्ट्याएको खबरमा उल्लेख थियो । तर क्याथरिनले मी टू मुभमेन्टका कारण आफूले ९ वर्षअघिको घटना पुनः ब्युँत्याएको बताएकी थिइन् ।

रोनाल्डोले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए । तर क्याथरिनसँगको भेट भने उनले अस्वीकार गरेका थिएनन् । आफूहरुबिच भएको सबै कुरा सहमतिमा रहेको रोनाल्डोको भनाई थियो ।

रोनाल्डो क्याथरिनलाई भेटेका बेला इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्थे । त्यसपछि उनले ९ वर्ष स्पेनिस ला लिगा क्लब रियल मड्रिडमा बिताए ।

उनी गएको वर्षको जुलाईमा इटालियन क्लब युभेन्टस गएका हुन् । रोनाल्डोले विश्वको सर्वोत्कृष्ट खेलाडीका रुपमा सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा बालोन डी’ओर अवार्ड जितेका छन् ।

Comments