काठमाडौं । सरकार र सरकारद्वारा प्रतिबन्धित दल नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच आज (मंगलबार) वार्ता हुँदैछ । वार्ताका लागि बाँकेको नेपालगञ्ज क्षेत्र तोकिएपनि वातास्थल खुलाइएको छैन ।

वार्ताका लागि पूर्वमन्त्री तथा सांसद सोमप्रसाद पाण्डे नेतृत्वको टोली नेपालगञ्ज पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधान गर्ने गरी वार्ता गर्न पाण्डे नेतृत्वको टोलीलाई नेपालगञ्ज पठाएका हुन् ।

विप्लव समूहबाट वार्तामा सहभागी हुने नेताहरुको नाम भने खुलाइएको छैन । विप्लवसमूहकै अनुरोधमा उनीहरुको नाम गोप्य राखिएको हो ।

यसअघि आइतबार पनि विप्लवका केही नेताहरुसँग छलफल भएको थियो । छलफल सकारात्मक भएपछि निर्णायक वार्ताका लागि सरकार र विप्लवका नेताहरु जुटेका हुन् ।

आजको वार्ता निर्णायक हुने सरकारी वार्ता टोलीको दाबी छ ।

Comments

comments