मेलबर्न । एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल निर्वाचित हुनुभएको छ ।

जुलाई ६ तारिख सम्पन्न निर्वाचनमा कँडेल सन् २०१९–२०२१ कार्यकालका लागि अध्यक्षमा विजयी हुनुभएको हो । उहाँले ४ हजार १ सय ४८ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पोखरेल ३ सय ९१ मतले पराजित हुनुभएको हो । पोखरेलले कुल ३ हजार ७ सय ५७ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी राष्ट्रिय समन्वय समितिको महासचिवमा डा ज्ञानेन्द्र रेग्मी, सचिवमा उषाकिरण बारिया पोखरेल, कोषाध्यक्षमा अनिल पोखरेल, सह कोषाध्यक्षमा लक्ष्मण गोपाली र युवा संयोजकमा इर्शाद अहमद विजयी हुनुभएको छ ।

राज्य समन्वय समितिका पदहरूमा क्यानबेराको संयोजकमा चुडामणी सापकोटा विजयी हुनुभएको छ ।

आईसीसी सदस्यमा राजु अधिकारी, छविप्रसाद सापकोटा, दीपक शर्मा, अरुणकुमार ठाकुर, नारायणप्रसाद काफ्ले, अशोक केसी र सन्तोष कुवँर निर्वाचित हुनुभएको छ । युवा उपसंयोजकमा द्वारिका दवाडी निर्वाचित हुनुभएको छ । महिला संयोजकमा भने सन्ध्या शाह र उपसंयोजकमा सब्बु महर्जन यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।

त्यसैगरी, न्यू साउथ वेल्स राज्यको राज्य संयोजकमा देबबहादुर गुरुङ तथा उपसंयोजकमा चुन्ना क्षत्री विजयी हुनुभएको छ । नर्दन टेरिटोरीको संयोजकमा हेम पुन निर्विरोध निर्वाचित हुनुभएको थियो ।

क्वीन्सल्याण्ड राज्यको राज्य संयोजकमा उमेश खड्का तथा उपसंयोजकमा अमृत खत्री विजयी हुनुभएको छ । त्यसैगरी दक्षिण अष्ट्रेलियाको राज्य संयोजकमा नवीन पन्त तथा उपसंयोजकमा सन्तोषी गौतम विजयी हुनुभएको छ । भिक्टोरिया राज्यको राज्य संयोजकमा प्रेमप्रसाद कँडेल तथा उपसंयोजकमा मणिरत्न सापकोटा विजयी हुनुभएको छ ।

त्यसैगरी, तास्मेनियाको राज्य संयोजकमा सन्देश परियार निर्विरोध निर्वाचित हुनुभएको थियो । पश्चिम अस्ट्रेलियाको राज्य संयोजकमा कृष्णमान श्रेष्ठ तथा उपसंयोजकमा माधव ढुंगाना विजयी हुनुभएको छ । अष्ट्रेलियाको ६ वटा राज्य र २ वटा टोरिटोरीमा एकैसाथ गरिएको निर्वाचनमा प्रमुख शहरहरूमा निर्वाचन केन्द्र स्थापना गरिएको थियो भने ग्रामीण इलाकामा बस्नेहरूका लागि अनलाइन भोटिङको व्यवस्था गरिएको थियो ।

विद्युतीय प्रणालीद्वारा गरिएको उक्त निर्वाचनमा २०९ पदका लागि ११ हजार ५ सय ९९ मतदाताले मताधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको सो निर्वाचनमा ८ हजार ३ सय ६६ मत खसेको थियो । कुल खसेको मतमध्ये न्यूसाउथवेल्समा ३ हजार ३४ मत खसेको थियो । त्यसैगरी भिक्टोरियामा १ हजार २ सय ७४, क्वीन्सल्याण्डमा १ हजार १ सय २७, पश्चिम अस्ट्रेलियामा ७ सय ४१, दक्षिण अस्ट्रेलियामा ८ सय ७४, तास्मेनियामा १ सय ७१, क्यानबेरामा ५ सय ९० र नर्दन टेरिटोरीमा ४ सय ७५ मत खसेको निर्वाचन आयोगले जनाएको छ । कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने अप्सन पनि राखिएको यस चुनावमा उल्लेख्य मात्रामा ‘नन अफ द अबभ’ मा पनि भोट खसेको थियो जसलाई एनआरएनए अष्ट्रेलियाभित्र अर्थपूर्ण रूपमा हेरिएको छ ।

Comments

comments