काठमाडौं । रौतहटमा बिमाको रकम हात पार्ने प्रलोभनमा बाबुले ४ वर्षिया छोरीको हत्या गरेका छन् ।

असार १७ गते मंगलबार रौतहटको मौलापुर नगरपालिका ६ को एक पोखरीमा ४ वर्षिया बालिकाको शव फेला परेको थियो । प्रहरीले उक्त शव रौतहटको मौलापुर नगरपालिका ६ का रामकिशोर यादवको कान्छी छोरी लक्ष्मी राय यादवको रहेको पत्ता लगाएको थियो । पोखरीमा शव फेला पर्दा भवितब्य या दुर्घटना हुन सक्ने सामान्य आशंका गरिएपनि अन्तत घटनाको ४ दिनमा घटनाका अभियुक्त सार्वजनिक गरियो ।

लक्ष्मीका पिता रामकिशोरले नै लक्ष्मीको हत्या गरेका थिए । प्रहरी अनुसन्धानमा असार १६ गते सोमबार छोरीको घाँटी थिची हत्या गरेर पोखरीमा फालेको र शव पोखरीमा फालेर आफैले छोरी हराएको भन्दै प्रहरीमा खबर गरेका थिए । कान्छी छोरी लक्ष्मीको नामबाट २५ लाखको बिमा गराएका रामकिशोरले बिमा रकम पाउने आशामा हत्या गरेका थिए ।

बिमाको पहिलो किस्ता पौने २ लाख उनले बैंकलाई बुझाएका थिए । बिमा गरेको एक महिनामै यदि बिमकको निधन भएमा डबल (दुई गुणा) रुपैयाँ फिर्ता पाइने बताइएसँगै यादवले पैसाको लोभमा छोरीको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।

अभियुक्त रामकिशोर तत्कालीन माओवादीले गरेको सशस्त्र द्वन्दमा समेत सामिल भएको र द्वन्दकै क्रममा ४ वर्ष जेल सजाय समेत भुक्तानी गरेको खुल्न आएको छ ।

Comments

comments