काठमाडौं । इन्टरनेशनल इण्डियन फिल्म एकेडमी अवार्ड (आइफा) नेपालमा गर्नेबारे आयोजक संस्था विजक्राफ्ट इन्टरनेशनलले पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएको छ ।

नेपालमा हुने भनिएको अवार्ड स्थगित गरिएको अवस्थामा उसले कानुनी उपचार खोज्ने चेतावनी दिएको छ । नेपालमा अवार्ड हुँदा नेतृत्व गर्ने भनेको संस्था पर्यटन बोर्डले संसदीय समितिमा विजक्राफ्टले पठाएको प्रस्ताव सार्वजनिक गरेको थियो । २० औं संस्करणको अवार्ड समारोह आयोजनाका लागि नेपालसहित धेरै देशले प्रस्ताव पठाएको विज्ञप्तिमा उल्लेख छ। विजक्राफ्टका अन्तर्रा्ष्ट्रिय निर्देशक आन्द्रे टिमिन्सले ‘अवार्ड आयोजना गर्ने विषयमा कुनै सहमति नजुट्दै नेपालको संसदीय समितिसम्म कुरा उठ्नु असामान्य भएको जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यही कारण अगामी संस्करणबारे हालसम्म आइफाले कुनै जानकारी वा भिडियो बनाउन नसकेको उसले प्रस्ट पारेको छ । अवार्ड समारोह काठमाडौंबाहेक नेपालका अन्य स्थानमा पनि गर्न सकिने उसले उल्लेख गरेको छ । बलिउडको फिल्म अवार्ड आइफा नेपालमा गर्न सरकारले ठूलो रकम खर्च गर्न लागेको सार्वजनिक भएपछि त्यसको चर्को विरोध भएको थियो। संसदका्े अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले राष्ट्रको ढुकुटी (झन्डै १ अर्ब) खर्च गरेर विदेशी कार्यक्रम नगर्न सरकारलाई निर्देशन दिएको थियो।

चौतर्फी विरोध र संसदीय समितिको निर्देशनपछि पर्यटन बोर्डले नेपालमा आइफा अवार्ड स्थगित गरिएको जनाएको थियो।

Comments