काठमाडौँ । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सोमाबारदेखि पुनः पूर्ण क्षमतामा सञ्चालन हुँदैछ । धावनमार्ग स्तरोन्नतिका लागि गएको तीन महिनादेखि विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै आएको थियो ।

तर सोमबारदेखि पहिले जस्तै दैनिक २१ घण्टा विमानस्थल सञ्चालनमा आउने जनाइएको छ । सोमबार बिहान ६ देखि नै विमानस्थल सञ्चालन सुरु भएको जनाइएको छ ।

मर्मतका लागि राति १० देखि बिहान ८ बजेसम्म विमास्थल बन्द गरिएको छ । तर अबदेखि बिहान ६ बजेदेखि अर्को दिनको बिहान ३ बजेसम्म विमानस्थल सञ्चालनमा रहने छ ।

विमानस्थल धावनमार्गको स्तरोन्नति गर्ने काम निर्धारित समयमै ९० दिनमै सकिएको हो । विमानस्थलको मर्मतको काम सकिएपछि सोमबारदेखि नै २१ घण्टा सञ्चालनमा आउने भएको हो ।

जटिल मानिएको तीन हजार ५० मिटर लामो धावनमार्ग मर्मतको काम तोकिएको समयमा नै पूरा गरेर काम नहुने प्रवृत्तिमा सुधार आएको उदाहरण प्रस्तुत भएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले असाध्यै जटिल मानिएको धावनमार्गको मर्मत कार्य आइतबार राति पूर्णरूपमा सम्पन्न हुने भएको बताएका छन् ।

चिनियाँ निर्माण कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनले सरकारको अपेक्षा र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर तोकिएको समयमा नै सम्पन्न गरेको छ । बाँकी रहेको छिट्फुट काम भने केही बाँकी रहे पनि त्यसलाई पनि छिट्टै सम्पन्न गरिने जनाइएको छ ।

सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकामा पहिलोपटक कालोपत्र परिवर्तन गरिएको हो । काठमाडौँ निदाइरहेको बेला हरेक दिन ८० देखि १०० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामग्री फालेर विभिन्न तहमा निर्माण सामग्री राखिन्थ्यो ।

विमानस्थलबाट हाल १०० भन्दा बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुने गरेका छन् । धावनमार्ग मर्मतको अवधिमा १५ प्रतिशत मात्रै उडान कटौती भएको थियो ।

Comments

comments