काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा केही दिन यता कथित ’सिरिञ्ज आतंक’ मच्चाइरहेका भनिएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले रामेछाप घर भई नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो । कार्कीले महिलाहरूलाई रमाइलोका लागि सिरिञ्ज नभई ढलान किलाले घोप्दै हिँडेको प्रहरी समक्ष स्वीकार गरेका छन् । यो गम्भीर मनोरोगको परिणाम भएको विज्ञहरु बताउछन् ।

काठमाडौंको महाराजगञ्जमा फास्टफूड रेस्टुरेन्ट सञ्चालन गर्दै आएका कार्कीले राति १० बजे रेस्टुरेन्ट बन्द गरी सोह्रखुट्टे, टंकेश्वर, कालीमाटी हुँदै नैकाप फर्किने क्रममा बाटोमा भेटिएका महिलाहरूलाई रमाइलोका लागि ढलान किलाले घोप्दै हिँडेको स्वीकारेको प्रहरीले जानकारी दिएको छ । प्रहरीमा कार्कीले दिएको बयानका आधारमा उनी साइकोप्याड नामक मनोरोगबाट प्रताडित रहेको मनोविद गोपाल ढकालको भनाइ छ । यस्तो रोगबाट पीडितमा अर्कालाई दुख दिएर मज्जा लिने प्रवृत्ति रहने उहाँ बताउनुहुन्छ ।

मनोविद ढकालका अनुसार समाजका सामान्य मुल्य मान्यता तोड्दै अराजक गतिविधि गर्नुलाई यस्ता बिरामीहरु आफ्नो ठूलो जीत ठान्ने गर्दछन् । सुन्दरी युवतीहरुलाई मात्र आक्रमणको निशाना बनाउने कार्कीको गतिविधि र उनले दिएको बयानलाई आधार मान्दा उनमा गम्भीर यौन विचलन समेत रहेको प्रष्ट भएको मनोविद ढकाल बताउनुहुन्छ । मनभित्रको यौनकुण्ठा मेटाउन कार्कीले युवतीहरुलाई आक्रमण गर्ने गरेको भन्न सकिने धेरै आधार रहेको उहाँको भनाइ छ ।

यस्ता असामाजिक गतिविधि बढ्नुमा सामाजिक सञ्जाल पनि जिम्मेवार रहेको मनोविद ढकालको दाबी छ । सामाजिक सञ्जालहरुमा रमाइलोकालागि बनाइएका विभिन्न अराजक क्रियाकलापहरु हेरेर त्यसैको सिको गर्नेहरुले यस्तो गतिविधि गर्ने उहाँको भनाइ छ ।

कार्कीको पक्राउपछि सिरिञ्ज आक्रमण नभई तीखो वस्तुको आक्रमण मात्र भएको पुष्टि भएको छ । तर मिडिया र प्रहरीले घटनाको वास्तविकता नबुझी समाचार सम्प्रेषण गर्दा समाज नै आतंकित बनेको ढकाल बताउनुहुन्छ । यस्तो क्रियाकलापले समाजमा नकरात्मक प्रभाव पर्ने भएकोले मिडिया पनि जवाफदेही बन्नुपर्ने उहाको धारणा छ । उहाँका अनुसार यस्ता मनोरोग खतरनाकभित्र पर्छ । किनभने अर्कालाई दुख र पीडा दिएर रमाउनेले जस्तोसुकै हर्कत गर्नसक्ने उहाँको ठम्याइ छ । त्यसैले यस्ता रोगीहरुको समयमै पहिचान गरी उचित परामर्शद्धारा उपचार गरिनुपर्ने मनोविद ढकालको सुझाव छ ।

Comments