काठमाडौं । वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देश गएका २८ जना नेपाली अचेत अवस्था कोमामा उपचारत रहेको तथ्यांक सार्वजनिक भएको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले खाडी मुलुकका साथै मलेसिया र दक्षिण कोरियामा २८ जना नेपालीको कोमामा उपचार भइरहेको तंथ्याक संकलन गरेको हो । ति मध्ये ४ जनाको अचेत अवस्थामा विदेशका अस्पतालमा उपचार भइरहेको बोर्डले जनाएको छ । कतार, साउदी, युएई, दक्षिण कोरियालगायत मुलुकका अस्पतालमा यस्ता गम्भीर प्रकृतिका कामदार कोमामा उपचाररत रहेको बोर्डले जनाएको छ । सबैभन्दा धेरै कतारमा १३ जना कोमामा उपचाररत रहेको बोर्डले जनाएको छ । त्यसपछि साउदी, कुवेत, युएई र दक्षिण कोरियामा कोमामा उपचाररत छन् ।

जटिलअवस्थामा उपचाररत ति नेपालीलाई सरकारले स्वदेशमै फर्काएर उपचार गर्ने तयारी गरेको छ । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोमामा पुगेका नेपालीलाई स्वदेश फर्काएर उपचार गर्न एउटा कार्यदल बनाउने तयारी भइरहेको जानकारी दिएको छ । विदेशमा कोमामा उपचार भइरेका कामदारलाई स्वदेशमा ल्याएर सरकारी अस्पतालमा उपचार गराउने तयारीका लागि छलफल भइरहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताउनुभयो । यसकालागि सम्बन्धित अस्पतालसँग पनि छलफल भैरहेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले विभिन्न देशका अस्पतालमा कोमामा र अन्य उपचाररत गम्भीर प्रकृतिका बिरामीको संकलित तथ्यांकमाथि कुटनीतिक नियोगसँग सहकार्य र छानविन गरी नेपाल ल्याउने प्रक्रिया मिलाइने बताउनुभयो । विदेशमा हाल उपचाररत बिरामी कामदारलाई नेपाल ल्याएर उपचार गर्न सम्भव रहेको उहाँको दावी छ ।

यस्ता कामदारलाई स्वदेश ल्याउन श्रम मन्त्रालयअन्तर्गत सम्बद्ध महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने गरी काम तत्काल अघि बढाइने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

Comments