काठमाडौं । पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंगो लगाउने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच छलफल भएको छ ।

शुक्रबार दिउँसो दुई घन्टासम्म भएको छलफलले शनिवारदेखि सुरू हुने पार्टी सचिवालय बैठकको एजेन्डा तय गरेको छ । शनिवारदेखि सुरू हुने सचिवालय बैठकले सबैभन्दा पहिले पार्टीको राजनीतिक प्रतिवेदन पारित गर्ने र त्यसपछि पार्टीको सांगठनिक एकता र कार्यविभाजन गर्न तयारी भइरहेको बालुवाटार स्रोतले बताएको छ ।

पार्टीको सिद्धान्त बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई संयोजन गरेर जनताको जनवाद बनाउने भन्ने कुरामै एकीकृत पार्टीका नेताहरूको मत बाझिएपछि पहिले राजनीतिक दस्तावेज सार्वजनिक गर्नु पर्नेमा अध्यक्ष दाहालको जोड थियो । प्रतिवेदन सार्वजनिक गरेपछि कार्यविभाजनको मापदण्डमा नेताहरूबीच देखिएको मतभेदलाई सम्बोधन गर्ने सहमति पनि दुई अध्यक्षबीच भएको बालुवाटार स्रोतले बताएको छ ।

केन्द्रीय तथा जिल्ला तहका नेताहरुको कार्य्विभाजनमा दोहोरो जिम्मेवारी दिने या नदिने भन्नेमा अध्यक्ष ओली र सचिवालय सदस्य माधवकुमार नेपालबीच मतभेद छ । मापदण्डका विषयमा भने अध्यक्ष दाहालले नेताहरूको सक्रियता र कामका आधारमा जिम्मेवारी दिँदा कतिपयलाई दोहोरो जिम्मेवारी भए पनि फरक नपर्ने बताउँदै आउनुभएको छ ।

Comments

comments