काठमाडौं । आयोजक इंग्ल्याण्ड जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार राति सकिएको खेलमा श्रीलंकासँग पराजित भएको छ । लिड्समा भएको खेलमा श्रीलंकाले इंग्ल्याण्डलाई २० रनले पराजित गरेको हो ।

२३३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४७ ओभरमा २१२ रन बनाउँदा अल आउट भयो । उसका लागि बेन स्टोक्सले ८२, जोए रुटले ५७ तथा कप्तान इयान मोर्गनले २१ रन बनाए पनि हार टार्न सकेनन् । श्रीलंकाका लासिथ मालिंगाले चार, धनन्जय डी सिल्भाले तीन तथा इसुरु उडानाले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३२ रन जोड्यो । उसका लागि एन्जेलो म्याथ्युजले सर्वाधिक ८५ रन बनाए ।

यस्तै अभिषेक फर्नान्डोले ४९, कुशल मेन्डिजले ४६ र धनन्जय डी सिल्भाले २९ रन जोडे । अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

इंग्ल्याण्डका जोफ्रा आर्चर र मार्क उडले समान तीन विकेट लिए । अदिल रशिदले दुई र क्रिस वोक्सले एक विकेट हात पारे ।

Comments

comments