काठमाडौं । वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा ७ हजार तीन सय चार जनाको ज्यान गएको छ। नेपालबाट हरेक वर्ष चार लाख हाराहारीमा जनशक्ति वैदेशिक रोजगारीमा जाने तथ्यांक छ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले रोजगारमा जाने नेपालीलाई अपर्याप्त आराम, न्यून पारि श्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने गरेको जनाएको छ। धेरै र कमसल रक्सी खाने, पानी कम पिउने, समयमा खानपानको प्रबन्ध नहुँदा स्ट्रोक, हृदयाघातजस्ता कारणले मृत्यु हुने गरेको छ। कार्यस्थलको असुरक्षा तथा अव्यवस्थित बसाइ मृत्युका अन्य कारण हुन्।

आर्थिक वर्ष ०६६–६७ देखि यस आवको जेठसम्म वैदेशिक रोजगारीमा मृत्यु हुनेमध्ये १६८ महिला छन्। बोर्डका अनुसार चालू आर्थिक वर्षको जेठसम्म वैदेशिक रोजगारीका क्रममा ६६७ जनाकोे मृत्यु भएको छ। त्यसमा २१ जना महिला थिए।

वैदेशिक रोजगारीका क्रममा दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ देखि ३ जनाको शव आउने गरेको छ। कतिपय उतै दाहसंस्कार गर्ने चलन पनि छ। श्रम स्वीकृति लिएका कामदारका परिवारले मात्रै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा बोर्डबाट आर्थिक सहायता पाउँछन्।

बोर्डले मृत्यु भएका कामदारलाई एक अर्ब ९५ करोड ८२ लाख ५४ हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ।

Comments

comments