काठमाडौँ । नेपाली चलचित्रको व्यंग्यात्मक समीक्षा गरेबापत विद्युतीय कारोवार ऐनअन्तर्गत प्रहरी थुनामा परेका प्रनेश गौतमको तत्काल रिहाइ माग गर्दै बुधबार युवाले राजधानीमा प्रदर्शन गरेका छन् ।

गौतमको पक्राउलाई अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप भन्दै युवा विद्यार्थीले माइतीघर मण्डलमा गरेको प्रदर्शनमा चलचित्र उद्योगको ‘दादागिरी बन्द गर’ लेखिएका प्लेकार्ड देखाएका थिए ।

उनीहरूले संविधानप्रदत्त नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न पनि माग गरे । अभिव्यक्ति स्वतन्त्रता वर्जित भएको संकेत स्वरुप मुखमा कालो टेप लगाएर प्लेकार्डसहित ललितपुरको पुल्चोकदेखि माइतीघरसम्म युवा विद्यार्थीले पैदल प्रदर्शन गरेका थिए । सामाजिक सञ्जालमा थुप्रै युवाले पक्राउको विरोधमा तीखा टिप्पणी गरेका छन् । ट्वीटरमाह्यासट्याग फ्रिप्रनेश गौतम ट्रेन्डिङ भइरहेको छ ।

यसैबीच काठमाडौं जिल्ला अदालतले गौतमलाई अनुसन्धानका लागि थप २ दिन हिरासतमा राख्ने प्रहरीलाई अनुमती दिएको छ ।

गौतमले ‘वीरविक्रम–२’ को समीक्षा युट्युब च्यानल ‘मिम नेपाल’ मा गरेपछि चलचित्र निर्देशक मिलन चाम्लिङ राईले आफ्नो तथा कलाकारको प्रतिष्ठामा आँच पुगेको भन्दै अपराध अनुसन्धान महाशाखामा उजुरी दिएका थिए ।

शुक्रबार पक्राउ गरिएका गौतमलाई प्रहरीले विद्युतीय कारोवार ऐनअन्तर्गत कारबाहीका लागि प्रक्रिया थालेको थियो । ‘बढीमा मानहानीसम्मको मुद्दा लगाउन सकिने’ ठाउँमा विद्युतीय कारोबार ऐन लगाउनु कानुनको अपचलन भएको जानकारहरूले औंल्याएका छन् । साइबर कानुनका ज्ञाता अधिवक्ता बाबुराम अर्यालले भने, ‘यो नेपालको कानुनी प्रक्रियाका हकमा एउटा कलंकजस्तै हो ।’

प्रहरीले भने ‘व्यक्तिको मानहानी मात्रैमा यसरी मुद्दा दर्ता गर्न नसकिने’ जिकीर गर्दै विद्युतीय कारोवार ऐन लगाउनुपरेको अडान लिएको छ । ‘कसैले कसैप्रति वितृष्णा फैलाउन चाहेको हकमा’ विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार मुद्दा लगाउने गरेको एक वरिष्ठ प्रहरी अधिकारीले भने ।

Comments