काठमाडौँ । गुठीयारमाथि सरकारले धावा बोलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली परम्परा, धर्म र संस्कृतिमाथि आँच ल्याउने उद्देश्यसहित गुठी विधेयक सरकारले ल्याएको र त्यसविरुद्ध बोल्दा टाउको फुटाउने स्थिति आएको भन्दै उसले संसद अवरोध गरेको हो।

भूमिसुधार तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गुठी विधेयक नेपाली धर्म र संस्कृतिविरुद्ध नआएको स्पष्टीकरण दिएपनि कांग्रेसले त्यसमा चित्त बुझाएन ।

आइतबार गुठियारमाथि प्रहरीले गरेको दमनबारे गृहमन्त्रीले स्पष्टीकरण नदिएसम्म संसद चल्न नदिने अडान कांग्रेसले लियो।

कांग्रेसका सांसद पुष्पा भुषालले सरकारले एकपछि अर्को गर्दै नागरिकको अधिकार र देशको मौलिकता खोस्न लागेको भन्दै विरोध जनाएकी थिइन्।

सभामुख कृष्णबहादुर महराले मन्त्री अर्यालले स्पष्टीकरण दिइसकेको तर गृहमन्त्री अहिले उपस्थित हुन नसक्ने जानकारी गराएपनि कांग्रेसले संसद अवरोधको कार्य जारी राखेको थियो।

कांग्रेसको विरोधका कारण १५ मिनेटका लागि स्थगित बैठक मंगलबार विहान ११ बजेसम्मका लागि स्थगित भएको जानकारी गराइएको थियो ।

Comments

comments