काठमाडौं । प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपालीहरु (एनआरएन)लाई नेपालको विकासमा लगानी गर्न आग्रह गरेका छन्। युरोप भ्रमणको क्रममा स्विट्जरल्यान्डको जेनेभा पुगेका उनले एनआरएनको सीप र दक्षता नेपाललाई आवश्यकता परेको बताए।

जेनेभास्थित नेपाली स्थायी नियोगले आयोजना गरेको रात्रीभोजलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक विकासको मार्गमा अघि बढिसकेको बताए। ‘कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीज्यूले स्विट्जरल्यान्डमा रहेका गैरआवासीय नेपालीलाई आफ्नो स्रोत, विज्ञता, अनुभव र सीप नेपालको विकास तथा समृद्धिमा लगाउन आग्रह गर्नुभयो,’ जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा दुई सयभन्दा बढी एनआरएनको उपस्थिति रहेको थियो।

युरोपका तीन राष्ट्र – स्विट्जरल्यान्ड, बेलायत र फ्रान्स भ्रमणको लागि प्रधानमन्त्री ओली शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन्। जेनेभामा उनी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले आयोजना गर्ने एक विशेष समारोहमा सहभागी हुनेछन्। प्रधानमन्त्रीसँगै युरोप भ्रमणमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट रहेका छन्।

Comments