काठमाडौं । काठमाडौंको ग्रिनसिटी अस्पतालमा एक बालिकाको मलद्धारको सफल शल्यक्रिया गरिएको छ ।

जन्मजात मलद्धार नभएकी दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ की आठ वर्षीया बालिका रविना योगीको सफल शल्यक्रिया गरिएको हो । आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा आर्थिक अवस्था कमजोर रहेकी बालिका रविनाको अस्पतालले निशुल्क शल्यक्रिया गरिदिएको अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले बताउनुभयो । गत जेठ ६ गते बरिष्ठ बालशल्य चिकित्सक डा गेहराज दाहालको नेतृत्वमा एनस्थेसियामा डा आशिष अमात्यसहितको टोलीले पाँच घण्टा लगाएर सफल शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो । बालिकाको स्वास्थ्य हाल सामान्य रहेको छ । आठ वर्षसम्म पेटमा प्वाल बनाएर दिसा निकाल्ने व्यवस्था गरिएको थियो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क शल्यक्रिया गरिएको बालिका रविनाको ६ महिनापछि पुनः अर्को शल्यक्रिया गरिने अध्यक्ष टण्डनले बताउनुभयो । पत्रकार सम्मेलनमा उपस्थित बालिका रविना र उनका अभिभावकले शल्यक्रिया सफल भएकोमा खुशी व्यक्त गरेका थिए ।

Comments

comments