काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्म भारत नेपालमा बुधवार नै रिलिज हुने भएको छ । नयाँ फिल्म शुक्रवार मात्र रिलिज गर्ने व्यवस्था भए पनि भारतले भने बुधवार नै रिलिज गर्न पाउने भएको हो । जिल्ला अदालत काठमाडौंको आदेश लिएर फिल्म भारतको नेपाल वितरकले बुधवार नै रिलिज गर्ने कानुनी बाटो पाएको हो ।

इद उल फितरको अवसरमा बुधबारबाट प्रदर्शनमा आउन लागेको फिल्म भारतमा बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री कटरीना कैफको प्रमुख भूमिका रहेको छ ।

यसअघि फिल्म ‘कलंक’ लाई भारतमा प्रदर्शनमा आएकै दिन अर्थात् बुधबार नेपालमा पनि रिलिज गर्न चलचित्र विकास बोर्डले रोकेको थियो । किनकि, नेपाली फिल्म शुक्रबार मात्र रिलिज हुने गर्दछन् ।

विदेशी फिल्म पनि शुक्रबार मात्र प्रदर्शन गर्नुपर्ने भन्दै बोर्डले ुबोल्डु निर्णय लिएको थियो । यसको चौतर्फी प्रशंसा पनि भएको थियो । विदेशी फिल्म अन्य दिन प्रदर्शनमा आउँदा नेपाली फिल्म चेपुवामा पर्ने गरेका छन् । भारतमा बुधबार रिलिज हुन लागेको फिल्म ‘भारत’ पनि शुक्रबार रिलिज गर्नुपर्ने निर्णयमा बोर्ड अडिक थियो । तर, अब यो फिल्म बुधबार भारतसँगै नेपालमा पनि प्रदर्शन हुने भएको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंले ‘भारत’ लाई बुधबार नेपाल रिलिज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार मात्र फिल्म रिलिज गर्न दिने बोर्डको निर्णयविरुद्ध जिल्ला अदालतमा वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्ट (मनोज राठी) ले रिट दायर गरेको थियो । अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न समेत चलचित्र विकास बोर्डलाई सचेत गराएको छ ।

अली अब्बास जफर निर्देशित फिल्म ‘भारत’ बुधबार नै रिलिज गर्न अदालतले दिएको आदेशको प्रति सम्भवतः मंगलबार बोर्ड अध्यक्ष केशव भट्टराईको हातमा पुग्नेछ । अदालतको आदेशसँगै अब विदेशी फिल्म अन्य दिनमा पनि प्रदर्शन हुन सक्नेछन् । शुक्रबार मात्र फिल्म रिलिज गर्न दिने बोर्डको निर्णयलाई अदालतको आदेशले ठूलो धक्का दिएको छ ।

के छ सम्झौता पत्रमा ?

प्रदर्शन र वितरणको विषयमा चलचित्र संघ र निर्माता संघको सम्झौता पत्रमा प्रदर्शन र वितरणको विषयमा राजधानीमा शुक्रवार मात्रै स्वदेशी फिल्म रिलिज गर्नुपर्ने भनिएको छ । विदेशी फिल्मको बारेमा केही पनि लेखिएको छैन । चलचित्र संघको तर्फबाट हरि प्रसाद द्धा (अध्यक्ष) र मुकुन्दकुमार ढुंगाना (महासचिव) यस्तै निर्माता संघको तर्फबाट युवराज लामा (अध्यक्ष) र अशोक शर्मा(महासचिव) को हस्ताक्षर रहने गरि २०६० साल श्रावण २३ गते १९ बुदेँ सम्झौता भएको थियो ।

सम्झौता पत्रमा वितरक, निर्माता र हलवालाको पक्षमा विभिन्न बुदाँहरुलाई समेटिएको छ । त्यसमा प्रदर्शनको विषयमा ९ नं बुदाँमा स्वदेशी फिल्म काठमाडौं उपत्यकामा शुक्रवार मात्र रिलिज गर्ने भनिएको छ । सम्झौता पत्रमा विदेशी फिल्मको कुनै शब्द कहिँ पनि लेखिएको छैन । त्यसको अर्थ दुबै संघको सहमतिमा विदेशी फिल्मको प्रदर्शनमा सहमित गर्न सकिनेछ । तर, चलचित्र संघले निर्माता संघको कुरा नमानेपछि र नेपाली फिल्मलाई असर पर्ने भएपछि निर्माता संघले नेपाली फिल्मको पक्षमा बाटो खोज्नु कुनै नौलो कुरा होईन । त्यसमा पनि दुई संघबीच भएको सम्झौता जब एउटाले मान्न तयार हुदैन तब त्यो सम्झौता पत्र यसैपनि भंग भएको सरह हुन्छ ।

त्यसमा पनि २०७४ चैत्र ३१ गते चलचित्र संघ र निर्माता संघ बीच नयाँ सम्झौता भएको थियो । पुरानो सबैखाले सम्झौतालाई खारेज गर्दै नयाँ सम्झौता गरेको थियो । त्यसमा पनि विदेशी फिल्मको बारेमा केही भनिएको छैन ।

Comments

comments