काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष (आव)देखि बेरोजगारलाई भत्ता दिन सुरु गरेको छ । प्रधानमन्त्री रोजगारी कार्यक्रमअनुसार सरकारले देशभरका ७ सय ५३ वटै स्थानीय तह (पालिका)मार्फत बेरोजगारलाई पैसा दिन थालेको हो ।

आगामी आवदेखि यो कार्यक्रम सुरु गर्ने भनिए पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको सक्रियताको कारण यही वर्षदेखि सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव डा. लोकनाथ भुसालले जानकारी दिए ।

‘यही वर्षदेखि यो कार्यक्रम सुरु गर्नैपर्ने भन्ने होइन । मन्त्रीज्यूको विशेष सक्रियताका कारण यही वर्षदेखि बेरोजगारलाई रोजगारी दिन थालिएको हो । कम्तीमा ३० दिनको रोजगारी ग्यारेन्टी हुने गरी रोजगारी दिन सबै स्थानीय तहलाई परिपत्र गरिएको छ,’ डा. भुसालले भने ।

बेरोजगारलाई काममा लगाएर पारिश्रमिक दिन अर्थ मन्त्रालयले केही साताअघि मात्रै २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ निकासा गरिसकेको छ । सरकारले केही महिनाअघि प्रत्येक पालिकामा रोजगार सूचना केन्द्र स्थापना गरी बेरोजगारको तथ्यांक संकलन गरेको थियो । अहिले निकासा गरिएको यो रकम तिनै बेरोजगारलाई बाँड्न लागिएको हो । तर, स्थानीय तहले बेरोजगारलाई कम्तीमा ३० दिनको काम दिएर मात्रै पैसा दिनेछ ।

सरकारले बेरोजगारलाई पैसा दिन पालिकालाई ४ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म निकासा दिइसकेको छ । कोन्ज्योसोम गाउँपालिकाले सबैभन्दा कम ४ लाख रुपैयाँ पाएको छ भने सबै महानगरपालिकालाई १/१ करोड रुपैयाँका दरले रकम निकासा गरिएको छ ।

केही उपमहानगरपालिकालाई पनि १ करोड रुपैयाँका दरले नै बजेट निकासा गरिएको छ । उपमहानगरमा सबैभन्दा कम बजेट पाउनेमा इटहरी परेको छ भने हेटौंडा, कलैया, जितपुर सिमरा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगन्ज र धनगढी उपमहानगरले १/१ करोड रुपैयाँका दरले नै पैसा पाएका छन् । नगरपालिका भएर पनि वीरेन्द्रनगर र भीमदत्तले १/१ करोड रुपैयाँ नै पाएका छन् ।

पैसा नबाँडे फ्रिज हुने

सरकारले चालू आवमा निकासा गरेको रकम अगामी असार मसान्तभित्रमै बाँडिसक्नुपर्नेछ । चालू आवका लागि दिइएको रकम खर्च नभए फ्रिज हुने प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव डा. भुसालले जानकारी दिए ।

Comments