काठमाडौं । शुक्रबार राती सोलुखुम्बुको विकट क्षेत्र छेस्काममा रहेको प्रहरी चौकीमा सशस्त्र आक्रमण प्रयास भएको खुलासा भएको छ ।

घटना सार्वजनिक भएपछि गृहमन्त्री रामबहादुर थापाले तीन सुरक्षा निकायका प्रमुखबाट सोमवार गृहमन्त्रालयमा आकस्मिक वैठक डाकेर ब्रिफिङ लिनुभएको हो । नेपाल प्रहरी प्रमुख महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले घटनाबारे गृहमन्त्री थापालाई ब्रिफिङ गर्नुभएको हो । सुरक्षा अधिकारीहरुले गृहमन्त्री थापालाई बुझाएको रिपोर्ट अनुसार छेस्काममा ३० देखि ४० जनाको संख्यामा हतियारधारी व्यक्तिको मुभमेन्ट देखिएको उल्लेख छ । प्रहरी चौकी आक्रमण गर्ने उदेश्यले सशस्त्र समूह आएको निष्कर्षमा प्रहरी पुगेको छ । तर प्रहरीले पाएको अग्रिम सूचना र अपनाइएको सावधानीका कारण क्षति हुन नपाएको सुरक्षा निकायको रिपोर्ट छ ।

व्रिफिङपछि गृहमन्त्री थापाले आवश्यकता अनुसार मुलुकको विकट क्षेत्रमा रहेका प्रहरी कार्यालयमा थप मद्दत पठाउन निर्देशन दिनुभएको थियो । नेत्रविक्रम चन्द समूहका नेता÷कार्यकर्तालाई लक्षित गरेर पहाडी क्षेत्रमा प्रहरी र सशस्त्रको संयुक्त अपरेशन चलाउने विषयमा पनि छलफल भएको छ ।

यसैबीच प्रहरी सहायक निरीक्षकको नेतृत्वमा रहेको छेस्काम प्रहरी चौकी खाली गराइसकिएको छ । त्यहाँका प्रहरीलाई आइतबार राति नै सुरक्षित स्थानमा सारिएको छ ।
घटनापछि प्रहरीले नेपाली सेनासँग हेलिकप्टर मागेको छ । सोलुखुम्बुमा हवाई गस्तीका लागि प्रहरीले सेनाको एमआई–१७ हेलिकप्टर मागेको हो । उक्त हेलिकप्टर तयारी अवस्थामा राखिएको सैनिक स्रोतले जनाएको छ ।

चौकीमा आक्रमण भएको विषयलाई लिएर चन्द समूहले भने विज्ञप्ति जारी गर्दै आफूहरुको संलग्नता नरहेको दाबी गरेको छ ।

File Photo

Comments