काठमाडौं । यस वर्ष विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहीको संख्या बढेसँगै मृतक पनि बढेका छ । सन् २०१९ मा नौ आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ । यस वर्ष भारतका चार, अमेरिकाका दुई, बेलायतका एक, आयरल्यान्डका एक र एक नेपाली आरोहीको मृत्यु भएको छ । यस सिजनमा तीन सय ८१ जनाले सगरमाथा आरोहण गरेका छन् । सगरमाथामा ट्राफिक जामका कारण बढीले ज्यान गुमाउनुपरेको चर्चाबीच आरोहीको संख्या तोक्ने कि नतोक्ने भन्ने विषयमा बहससमेत सुरु भएको छ । कतिपयले सगरमाथा आरोहणलाई सस्तो बन्न दिन नहुने र यसका लागि निश्चित मापदण्ड तय गरिनुपर्ने माग पनि गरेका छन् ।

तर, सरकार र शेर्पाहरू भने आरोहीको संख्या बढी भएकैले मृतकको संख्या बढेको अस्वीकार गर्छन् । अनुभवी गाइड र शेर्पा नलगेकाले आरोहीको मृत्यु भएको जानकारहरू बताउँछन् । यस वर्ष तीन सय ८१ जनाले पर्यटन विभागबाट आरोहणको अनुमति लिएका थिए । उनीहरूको शेर्पा र गाइडसमेत ६ सय ३१ जना सगरमाथा आरोहणमा गएका थिए । आरोहीको संख्या अघिल्ला वर्षमा भन्दा बढी भए पनि अत्यधिक होइन ।

सन् २०१८ मा तीन सय ४६ र २०१७ मा तीन सय ६६ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । जसमध्ये क्रमशः चार र पाँचजनाको मृत्यु भएको थियो । सन् २०१६ मा पाँच र सन् २०१५ मा भूकम्पका कारण १९ जना आरोहीको निधन भएको थियो । सन् २०१४ मा पनि आधार शिविरभन्दा केही माथि आएको हिउँपहिरोमा परी १७ जनाको निधन भएको थियो ।

सगरमाथामा ट्राफिक जामको वास्तविकता

सगरमाथामा छोटो समयका लागि मात्र आरोहणअनुकूल मौसम हुने गर्छ । त्यही छोटो अवधिमा धेरै आरोहीले सगरमाथा आरोहण गर्नुपर्दा ट्राफिक जाम हुने गरेको छ । मौसम अनुकूल हुनेबित्तिकै एकैपटक धेरै आरोही र तिनका सहयोगी शिखर पुग्न खोज्छन् । त्यस्तै, आरोहण गरिसकेका पनि त्यही अवधिमा फर्किरहेका हुन्छन् । यसले गर्दा क्याम्प ३ भन्दा माथि जाम हुन पुग्छ । खासगरी हिलारी स्टेपमा धेरैजना अड्किने गरेको आरोहीहरू बताउँछन् । यसपटक आरोहणपछि फर्केर हिलारी स्टेपमा तीन घन्टासम्म पालो पर्खनुपरेको आरोही सोना शेर्पाले बताए । ‘लामो समय पालो पर्खनुपर्दा कतिपयको अक्सिजन सकिने अवस्था आउँछ भने कतिपय थाक्छन्,’ पाँचपटक सगरमाथा शिखर पुगिसकेका उनी भन्छन्, । आरोहीहरू शिखरतर्फ उक्लँदै थाकिसकेका हुन्छन्, फर्कंदासमेत लाइनमा बस्नुपर्दा झन् असजिलो हुने शेर्पाहरूको भनाइ छ ।

अन्तराष्ट्रिय मिडियामा बदनाम

द न्युयोर्क टाइम्स  : यसपालि सगरमाथामा तुलनात्मक रूपमा धेरै आरोहीको मृत्यु भएकोमा द न्युयोर्क टाइम्स एडिटोरियल बोर्डले नै विचार स्तम्भ लेखेको छ । सगरमाथामा शव थुप्रिँदै गएको बताउँदै टाइम्सले लेखेको छ, ‘सगरमाथामा भिडको समस्या समाधान गर्ने समय यही हो ।’ सरकारले आरोहीको स्वास्थ्य जाँचेर मात्र पठाउनुपर्ने र संख्या सीमित गर्नुपर्ने सुझाब पनि उसले दिएको छ ।

नेपाल सरकारको कमजोर नियमनका कारण बढी ज्यान गएको उल्लेख गर्दै टाइम्सले आरोहण कम्पनीको क्षमतामा पनि शंका गरेको छ । ‘चीनले पनि आफ्नोतर्फबाट सगरमाथा आरोहण गराउँछ, तर त्यो मार्ग कमले प्रयोग गर्छन् र नियन्त्रण पनि कडा छ भन्ने गरिन्छ,’ उसले भनेको छ । आरोहीका लागि मापदण्ड तोक्ने काम नेपाली अधिकारीले बल्ल सुरु गर्न थालेको बताउँदै त्यो मापदण्ड अर्को सिजन सुरु हुनुअघि नै लागू हुनुपर्ने टाइम्सको राय छ ।

रोयटर्स : समाचार एजेन्सी रोयटर्सले तन्दुरुस्ती परीक्षणविना सगरमाथा आरोहणमा लग्ने प्रचलनले भीड बढेको जनाएको छ । त्यस्तै, सस्तो खर्चमै आरोहण सम्पन्न गर्ने उद्देश्यले पर्याप्त सहयोगी र सामग्रीविना अनुमति पाउने आरोही जोखिममा परेको उसको टिप्पणी छ । सस्तो आरोहण योजनाले खासगरी भारतीय आरोही बढी जोखिममा रहेको पनि रोयटर्सले उल्लेख गरेको छ ।

द वासिङटन पोस्ट : द वासिङटन पोस्टले सगरमाथामा जाम परेर आरोहीहरू मृत्युको मुखमा पुगिरहेको बताएको छ । अन्य मिडियाले जस्तै नेपालले कुनै मापदण्ड तोक्नेमा शंका गर्दै पोस्टले पनि एकाध वर्षका लागि सगरमाथालाई विश्राम दिनुपर्ने तर्क अघि सारेको छ ।

फाइनान्सियल टाइम्स : फाइनान्सियल टाइम्सले सर्वोच्च शिखर आरोहणको व्यवसायीकरणबारे प्रश्न उठाएको छ । भिडभाडयुक्त सगरमाथामा नौजनाको मृत्यु भएपछि आरोहण व्यवस्थापनमा कडा बहस सुरु भएको जनाउँदै सस्तो सेवा दिने नेपाली कम्पनीको गुणस्तरमा आशंका गरेको छ । ‘सगरमाथा चढ्न युकेको ज्याग्ड ग्लोबले प्रतिव्यक्ति ४५ हजार चार सय ९० डलर शुल्क लिइरहँदा नेपाली कम्पनीहरूले २५ हजार डलर मात्रै लिन्छन्,’ फाइनान्सियल टाइम्स भन्छ ।

Pic Credit : Mark Fisher/National Geography

Comments