काठमाडौं ।  नायिका करिश्मा मानन्धरले चार वर्षको राजनीतिक यात्रामा केही दिनअघि ‘ब्रेक’ लगाएको घोषणा गरिन्। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकतासँगै करिश्मा सक्रिय राजनीतिबाट अलग भइन्।

यद्यपि, औपचारिक रूपमा भने राजनीतिबाट अलग्गिएको घोषणा भने उनले गरेकी छैनन्।

त्यसपछि उनी सामाजिक सञ्जालमा सक्रिय देखिन थालेकी छन्। करिश्माले बिहीबार फेसबुकमा चारवटा पोस्ट गर्न भ्याइन्,जहाँ उनले ‘अब म बोल्छु’ अभियानै सुरु गरेकी छन्।

उनले बालाजु औद्योगिक क्षेत्रमा रहेको एनएफडिसी इन्डोर सुटिङ स्टुडियोको जग्गाबारे चासो व्यक्त गरेकी छन्। सुरुमा करिब २७ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा अहिले ६.७५ रोपनीमा खुम्चिएकोप्रति कश्मिाले चासो देखाएकी छन्।

उक्त सार्वजनिक जग्गा बेचबिखन भएको सुन्दा अचम्म लागेको भन्दै उनले तत्काल छानबिन माग गरेकी छन्।

जग्गाका विषयमा कतै कसैले चासो नदेखाएकोमा दुःख पोख्दै उनले लेखेकी छन्,‘आश्चर्य के लाग्छ भने सारा सञ्चारकर्मी र चलचित्रकर्मीलाई थाहा हुँदाहुदै पनि कोही चुइँक्क बोल्नुहुन्न । तिनले जे गर्लान्, म बोल्छु।’

यस्तै, करिश्माले बिहीबार नै नेपालमा बढ्दै गएका सामाजिक संस्था र सहयोगका आधारमा भइरहेका कामप्रति चासो देखाएकी छन्। चन्दा उठाउने सामाजिक संघसंस्थाका लागि निश्चित नियम बनाउनुपर्ने करिश्माको माग छ।

निजी संस्थाले स्वदेश तथा विदेशमा चन्दा उठाएर देशको पूर्वाधार तथा अन्य क्षेत्रमा काम गरिरहे पनि त्यसको पारदर्शितामा प्रश्न उठाएकी हुन्।

करिश्माले राज्यप्रति प्रश्न गर्दै भनेकी छन्, ‘सामाजिक संस्थाले अर्बौंको लगानीमा पूर्वाधार तथा सामाजिक काम गर्दा अब राज्यकोे दायित्व के?’ यस्ता सामाजिक संस्थाको उपस्थिति र गैरजिम्मेवार कार्यले समाजमा अराजकता फैलने करिश्माको तर्क छ।

सरकारलाई सचेत बन्न सुझाव दिँदै उनले भनेकी छन्,‘सामाजिक संस्थाप्रति नागरिकको विश्वास बढ्दै गएको छ, यसप्रति सचेत हौं।’

उनले अन्तमा लेखेकी छन्,‘यहाँ सिकार गर्ने बाघभन्दा सिनो खाने स्याल बढी सक्रिय छन्, अब म बोल्छु।’

Comments

comments