काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६–७७ को बजेट आज  बुधबार प्रस्तुत गर्ने भएको छ ।

दिउँसो ४ बजे बस्ने संसद वैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६–७७ को बजेट प्रस्तुत गर्नुहुनेछ । त्यसका लागि प्रतिनिधिसभाका सांसदलाई अपराह्न ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्न समेत सभामुख कृष्णबहादुर महराले आग्रह गर्नुभएको छ । संविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने प्रचलन छ ।

अर्थमन्त्री डा खतिवडाले आज करिब १५ खर्ब ७७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुहुने अर्थमन्त्रालयले जनाएको छ । आगामी आर्थिक बर्षका लागि यसअघि १४ खर्ब ९३ अर्ब रुपैयाँको सिलिङ दिइएको थियो । बजेटको माग थेग्न नसकेपछि बजेट आउनु २४ घण्टा अगाडि राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ बढाइ दिएको हो । आयोगको स्रोत समितिले बजेटको सिलिङ बढाएर १५ खर्ब ७७ अर्ब ७० करोड रुपैयाँ पुर्याइ दिएको हो ।

योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलको अध्यक्षतामा मंगलवार बसेको समितिको बैठकले बजेटको सिलिङ परिवर्तन गरेको हो ।

अर्थ मन्त्रालयले बजेटको आकार टुंगो लगाइसकेपछि बसेको स्रोत समितिको बैठकले यसअघि मध्यकालीन खर्च संरचनामा उल्लेखित अंकलाई नै नयाँ सिलिङ तय गरेको हो । योजना आयोगले प्रकाशन गरेको खर्च संरचनामा आगामी आर्थिक वर्षमा १५ खर्ब ७७ अर्ब ७० करोड रुपैयाँको बजेट अनुमान गरेको थियो ।

अर्थ मन्त्रालयले व्यय अनुमानको विवरण रातो किताब मंगलवार नै छपाईका लागि पठाइसकेको छ । यसैमा बजेटको आकार उल्लेख हुने भएकाले आगामी आर्थिक वर्षको बजेट नयाँ सिलिङकै वरिपरीको आकारमा आउने अनुमान गरिएको छ ।

Comments

comments