काठमाडौं । नेत्रविक्रम चन्द समूहको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।

भोजपुरमा आफ्ना कार्यकर्ता मारिएको विरोधमा विप्लव नेतृत्वको नेकपाले सोमबारका लागि बन्द आह्वान गरेको थियो । काठमाडौँ उपत्यकामा बिहानैदेखि सार्वजनिक गाडी चलेका छन् । तर अघिल्ला दिनको तुलनामा केही कम भने देखिएका छन् । निजी सवारी साधान भने नियमित जस्तै चलेका छन् ।

हिजो काठमाडौंका विभिन्न ठाउँमा भएको बम विस्फोटमा परी ४ जनाको मृत्यु भएपछि उपत्यकावासी आतंकित बनेका छन् ।

भक्तपुरको च्यामासिंहमा शंकास्पद बस्तु फेला पारेको छ । च्यामासिंह मालपोत कार्यालय नजिकै सोमबार बिहान पौने तीन बजेतिर प्रहरीको मोबाइल टोलीले शंकास्पद बस्तु फेला पारेको हो ।

सेतो रंगको झोलामा पोको पारिएको अवस्थामा रहेको शंकास्पद बस्तु सुरक्षित रुपमा निश्क्रिय पारिएको सुरक्षा टोलीले जनाएको छ ।

उता धादिङको महादेवबेसी पुलमा फेला परेको बिस्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत पुलमा आइतबार राति भेटिएको बिस्फोटक पदार्थ झण्डै चार घण्टाको प्रयासपछि निष्क्रिय पारिएको नेपाली सेनाको टोलीले जनाएको छ ।

बम डिस्पोजल टोलीले सोमबार बिहान साढे पाँच बजेतिर बिस्फोटक पदार्थ निष्क्रिय पारेको प्रहरीले जनाएको छ । सो बिस्फोटक पदार्थ सकेट बम रहेको प्रहरीले जनाएको छ । गजुरीबाट गएको सेनाको टोलीले सो बम निष्क्रिय पारेको हो ।

यसैबिच नौबिसेमा भेटिएको शंकास्पद बस्तु पनि निष्क्रिय पार्ने प्रयासमा सेनाको टोली रहेको छ । राजमार्गमा बम भेटिएपछि गाडी कम चलेका छन् । यात्रु बसलाई सुरक्षाकर्मीले स्कटिङ्ग गरेका छन्।

राजधानीका तीन स्थानमा भएका बम विस्फोटमा चार जनाको ज्यान जानुका साथै ८ जना घाइते भएपछि सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको छ।

तीनै सुरक्षा प्रमुखहरुसहित गृहमन्त्रीको बैठकमा आइतबार साँझ गृहमन्त्री रामबहादुर थापा बादलले हाइ अलर्टमा बस्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । आज काठमाडौंं उपत्यकासहित देशका प्रमुख शहरमा सुरक्षाकर्मीको उल्लेख्य परिचालन गरिएको छ ।

Comments

comments