मुम्बई । विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यासको उत्सवको रुपमा रहेको भारतीय लोकसभा चुनावको मतगणना आज हुँदैछ ।

आजै साँझसम्ममा अन्तिम मतपरिणाम आइसक्नेछ । ५४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा चुनाव भएको हो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यहि मे १९ मा अन्तिम अर्थात सातौँ चरणमा मतदान सम्पन्न भएको हो । सबै चरणको मतदान सकिएपछि आज गणना हुन लागेको हो ।

एनडिए गठबन्धनलाई नै बहुुमत आउने संकेत

अन्तिम चरणको मतदान सकिएपछि आएका अधिकांश एक्जिट पोलमा वर्तमान सत्तारुढ एनडिए गठबन्धनलाई नै यसपटक पनि बहुमत आउने देखिएको छ । तर कांग्रेससहितको विपक्षी गठबन्धन युपिएले एक्जिट पोलमा कुनै सत्यता नरहेको बताएका छन् ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले ट्वीट गरेर आफ्ना कार्यकर्तासँग कर्ममा विश्वास गर्न आग्रह गरेका छन् । तर भाजपासहितको सत्तारुढ गठबन्धन भित्र भावी सरकारका बारेमा तयारी सुरु भएको पनि बताइन्छ ।

यसपटकको चुनावमा ९० करोड भन्दा बढि मतदाता योग्य थिए, ५४३ लोकसभा सिटका लागि । भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढि हो ।

भारत सन् १९४७ मा बेलातबाट स्वतन्त्र भएपछि पहिलो पटक सन् १९५१–५२ मा चुनाव भएको थियो । अहिले चुनावमा मतदान योग्य रहेका मतदाताको संख्या अमेरिकाको भन्दा झण्डै चार गुणा बढि हो । प्रजातान्त्रिक अभ्यास गर्ने देशमा भारतपछि अमेरिका दोस्रो स्थानमा आउँछ जनसंख्या या मतदाताका हिसाबले ।

यो चुनावमा जुन पार्टीले जित्छ उसले आगामी पाँच वर्ष विश्वको ठूलो प्रजातान्त्रिक देशको नेतृत्व सम्हाल्ने छ । यसलाई अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको समीक्षाका रुपमा पनि लिइएको छ । अर्थतन्त्रका हिसाबले पनि भारत विश्वको शक्ति राष्ट्रमा पर्छ । अहिले भारतको जनसंख्या १.३४ बिलियन भन्दा बढि छ र चाँडै नै १.३९ बिलियन जनसंख्या रहेको चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढि जनसंख्या युक्त देश बन्ने देखिएको छ ।

किसानका समस्या, गरिबी र बेरोजगारी भारतको सबैभन्दा ठूलो चुनौति हो र अहिलेको चुनावी मुद्दा पनि त्यहि बनेको छ । तर नरेन्द्र मोदीको भाजपाले राष्ट्रियताको मुद्दालाई प्रमुख बनाएको छ ।

सन् २०१४ को चुनावमा भन्दा यसपटक ८३ मिलियन मतदाता थपिएका छन् । निर्वाचित भएका लोकसभा सदस्यबाटै सबैभन्दा ठूलो दल अर्थात बहुमत ल्याउने दलका नेता प्रधानमन्त्री बन्ने छन् । यस्तो हुन नसकेमा गठबन्धनका नेता प्रधानमन्त्री बन्ने छन् ।

अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीका मुख्य प्रतिद्वन्द्वीका रुपमा कांग्रेसका राहुल गान्धी रहेका छन् । भारतको संसदमा लोकसभा र राज्यसभा गरि दुई सदन छ । लोकसभा सबैभन्दा शक्तिशाली छ । लोकसभामा रहेका ५४३ सिट मध्य बहुमतका लागि २७२ सिट चाहिन्छ ।

पछिल्लो चुनाव अर्थात सन् २०१४ को चुनावमा नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बिजेपी) ले २८२ सिट जितेको थियो । यस्तै राहुल गान्धीको पार्टी कांग्रेसले ४४ सिट मात्रै जितेको थियो । कांग्रेसले सन् २००९ को चुनावमा २०६ सिट जितेको थियो ।

मोदीको पाँच वर्षे कार्यकालको जनमत संग्रहका रुपमा लिइएको चुनावमा हिन्दु बाहुल्य भारतमा उनको चर्चा बढि छ । तर उनीमाथि विभाजनको राजनीति गरेको आरोप पनि छ । भारतमा २० करोड भन्दा बढि मुस्लिमको बसोबास छ ।

Comments