रसुवा । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ ।

गएको शुक्रबार साँझ ५ बजेदेखि सुरु गरिएको उत्पादन परीक्षण सोमबार साँझ पूरा भएको हो । आयोजनाको पहिलो युनिट लगातार तीन दिन (७२ घण्टा) सञ्चालनको अवधिमा शतप्रतिशत हुन आउने प्रतिघण्टा ३० मेगावाट विद्युत्को उत्पादन सफल रूपमा गरिएको आयोजनाका उपप्रबन्धक इञ्जिनीयर सत्यराम ज्याख्वाले जानकारी दिनुभयो ।

उनका अनुसार आयोजनाको पहिलो युनिटमा निरन्तर लोड (विद्युत् उत्पादन) दिएर गरिएको परीक्षणमा कुनै ह्रास तथा समस्या उत्पन्न नभई साँझ ५ बजे परीक्षणको अवधि सम्पन्न गरिएको छ । तीन दिनको परीक्षण अवधि र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बिहीबारको अवलोकनको क्रममा सञ्चालन गरिएको समयमा समेत गरेर आयोजनाबाट २६ लाख २० हजार ८०० युनिट विद्युत् उत्पादन भएको छ ।

विद्युत् थ्री ‘ए’ आयोजनामार्फत नै निर्माण गरिएको त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल सर्किट’ प्रसारण लाइनमार्फत काठमाडौँको मातातीर्थ सवस्टेशनमा लगेर राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आपूर्तिको माग बढिरहेको अहिलेको सुख्खायाममा थप भएको उक्त विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएसँगै विद्युत अभावमा महत्वपूर्ण राहत महशुस भएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो ।

आयोजनाको एक युनिटको परीक्षण सफल भएसँगै आज साँझदेखि कम्तिमा आठ दिनको लागि पहिलो युनिटलाई पुनः परीक्षणको लागि बन्द गरिएको आचार्यले बताउनुभयो ।

Comments

comments