काठमाडौं । पोर्चुगलमा काम गर्ने दुई आप्रवासी नेपालीलाई अपहरण र आक्रमण गरेको अभियोगमा चार जीएनआर सैनिकहरूलाई पोर्चुगलको न्यायिक प्रहरीले पक्राउ गरेको छ ।

गत वर्ष २०१८ अक्टोबरमा एन्टिन्जो, ओदिमेरा र विला नोवा डे मिलफन्टेसमा सुरक्षामा खटिएका चार जीएनआर सैनिकहरूलाई अपहरण र आक्रमण तथा दुर्व्यवहारको अभियोगमा प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो।

न्यूयोर्क टाइम्सका अनुसार कृषि काम गरिरहेका दुई नेपाली आप्रवासी र कृषि मालिकको बिचमा भएको बिबादमा जिएनआर प्रहरीले बिना कसुर शक्ति प्रदर्शन गरेको थियो। नेपाली कामदार र कृषि मालिक बिचमा बिबाद हुँदा चिनजानको आधारमा कृषि मालिकको पक्षमा वकालत गर्दै नेपाली कामदारमाथि दुर्व्यवहार र शक्ति प्रदर्शन गरेकोले कारवाहीको लागि जिएनआर सैनिकहरुलाई पक्राउ गरेको पोर्चुगलको न्यायिक प्रहरीले जनाएको छ।

आप्रवासी नेपालीहरुको वासस्थान पत्ता लगाएर रातिको समयमा नेपाली कामदारको घरमै गएर अपहरण शैलीमा जिएनआर सैनिकहरुले दुव्यवहार गरेको र भौतिक आक्रमण गरेको आरोप लागेको छ। शुरुमा एक जना सैनिक मात्रै नेपाली कामदारको वासस्थानमा गए पनि पछि उनले फोन गरेर अन्य ३ सैनिकहरुलाई बोलाएर नेपालीमाथि दुर्व्यवहार गरेका थिए। नेपाली कामदारको बचाउमा आएका अर्का नेपालीलाई समेत अपहरण र दुर्व्यवहार गरेको आरोप चारै सैनिकहरुमाथि लागेको छ।

न्यायिक प्रहरीले पीडित नेपालीहरुको पहिचान भने सार्वजनिक गरेको छैन । पक्राउ गरिएका चारै जना जीएनआर सैनिकहरुलाई कारवाहीका लागि बिहीबार ओदिमेरा अदालतमा उपस्थित गराईँदैछ।

Comments

comments