सिड्नी । गैर आवासीय नेपाली संघ एनआरएन ओसियाना क्षेत्रीय सम्मेलन यही साता अष्ट्रेलियाको सिड्नीमा हुँदैछ ।

क्षेत्रीय सम्मेलनका लागि बिश्वभरीका एनआरएन नेपालीहरु सिड्नी आउने क्रम शुरु भैसकेको छ । सम्मेलनमा संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसीलगायत करिब दुई सय बिदेशी प्रतिनिधि सहभागी हुने आयोजक एनआरएन ओसियाना क्षेत्रीय संयोजक धर्मराज अधिकारीले जानकारी दिनुभयो । सम्मेलनाको उद्घाटन नेपालका कानुनमन्त्री भानुभक्त ढकालले गर्नुहुने तय भएको छ । सम्मेलनमा संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोलम्यानको उपस्थिति रहने आयोजकले जनाएको छ ।

मे ११ र १२ गरि दुई दिनसम्म सिड्नीको हायात होटलमा चल्ने सम्मेलनमा न्युजिल्याण्ड, भानुवातुसहित बिभिन्न २० देशबाट ३ सय एनआरएन नेपाली सहभागी हुने अपेक्षा गरिएको छ ।

संयोजक अधिकारीका अनुसार ‘समृद्ध नेपालका लागि एनआरएन सदैव र सबैको लागि’ भन्ने नाराका साथ नेपालमा बैदेशिक लगानी, नेपालको पर्यटन विकास र प्रबद्र्धनमा सम्मेलन केन्द्रित रहनेछ । विदेशमा सिकेको ज्ञान र सीपलाई स्वदेशमा लैजाने अभियानलाई पनि केन्द्रमा राखेर छलफल र अन्तरक्रिया गर्ने आयोजकको तयारी छ । सम्मेलनमा क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारी, अष्ट्रेलियाका तर्फबाट डा राजु अधिकारि, डा कुश श्रेष्ठ, डा कृष्ण हमाललगायतले विभिन्न बिषयमा कार्यपत्र पेश गर्नुहुनेछ । यसका साथै, नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न एनआरएनको भूमिकाबारे पनि घनिभूत छलफल गर्ने तयारी छ । सम्मेलनका निष्कर्षहरू नेपालको विकास निमार्णका लागि उपयोगी हुने विश्वास गरिएको छ ।

सम्मेलनको पहिलो दिन लगानी, पर्यटन प्रबद्र्र्धन र बिदेशमा सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा लैजान सकिनेबारे छलफल हुनेछ भने दोस्रो दिन सिड्नी घोषणापत्र जारी गरिनेछ

Comments

comments