काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग सोमबार औपचारिक एकीकरण हुँदैछ ।

काठमाडौंमा एक सभाको आयोजना गरी दुई पार्टीबीच एकीकरणपछि समाजवादी पार्टीको घोषणा गर्न लागेको हो । सोमबार नै समाजवादी पार्टीको २५ सदस्यीय पदाधिकारीको घोषणा हुनेछ। फोरमबाट १६ जना पदाधिकारी रहनेछ जसमा हाल एउटा पद खाली रहेको छ। यसैगरी नयाँ शक्तिबाट ९ जना पदाधिकारी रहनेछन्।

यसैगरी महाधिवेशन आयोजक समितिको सदस्य संख्या घटाइएको छ। यसअघि फोरमले एक हजार सदस्य भएको महाधिवेशन समिति घोषणा गरेको थियो भने नयाँ शक्तिले ६ सय सदस्य संख्याको समिति घोषणा गरेको थियो।

दुबै दलबीच भएको सहमतिअनुसार फोरमले एक हजारबाट घटाएर ६ सय र नयाँ शक्तिले ६ सयबाट घटाएर ४ सय सदस्य राख्ने छन्। समाजवादी पार्टीको महाधिवेशन आयोजक समिति एक हजार सदस्यीय हुनेछ।

यसैबीच फोरम नेपालले तत्कालै सरकार नछाड्ने भएको छ। डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग एकीकरणको घोषणा गर्न लागेको यादवले तत्काल सरकारभित्रै रहेर संघर्ष गर्न रणनीति लिएको छ।

फोरम र नयाँ शक्तिका नेताहरुबीच भएको सहमतिअनुसार संसदको चालु अधिवेशनसम्म उपेन्द्र यादव उपप्रधानमन्त्रीका रुपमा सरकारमै रहनेछन्।

सोमबार घोषणा हुन लागेको समाजवादी पार्टीको घोषणा कार्यक्रमबाट नेताहरुले सरकारलाई चेतावनी दिनेछन्। उक्त मञ्चबाटै प्रधानमन्त्रीलाई दबाव दिने तयारी रहेको छ।

Comments

comments