मेलबर्न । स्टार फटबलर लियोनल मेस्सीले आफ्नो खेल जीवनमा क्लब फुटबलमा ६०० गोलको आँकडा पूरा गरेका छन् ।

योसँगै वर्तमान समयमा महान फुटबलर मेस्सीले यहि समयका अर्का महान फुटबलर क्रिष्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति घरेलु मैदानमा लिभरपुलसँग भएको सेमिफाइनलको पहिलो लेगमा ३–० को जित निकाल्ने क्रममा मेस्सीले दुई गोल गरे । उनले खेलको ७५ औँ र ८२ औँ मिनेटमा गोल गरेका हुन् ।

७५ औँ मिनेटमा उनले बार्सिलोनाबाट ५९९ औँ गोल गरे । त्यसको सात मिनेटपछि २५ यार्डबाट सुन्दर फ्रि किक मार्फत आफ्नो खेल जीवनको ६०० औँ क्लब गोल गरेका हुन् मेस्सीले ।

मेस्सीले बार्सिलोनामा १४ वर्षको अवधिमा ६०० गोल गरेका हुन् । उनले सन् २००५ को मे १ मा अल्बाकेते विरुद्धको खेलमा बार्सिलोनाबाट पहिलो गोल गरेका थिए । १४ वर्षपछि मे १ कै दिन उनले क्लबबाट ६०० औँ गोल गरेका हुन् ।

मेस्सीले गरेका ६०० गोलमा हेडमार्फत २२, बाँया गोडामार्फत ४९१ तथा दायाँ गोडामाफृत ८५ गोल गरेका हुन् । दुई गोल बायाँ गोडाको घुँडा भन्दा तल्लो भागबाट भएको छ । मेस्सीले बार्सिलोनाबाट ६८३ खेलमा ६०० गोल गरेका हुन् ।

उनी एउटै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने पहिलो खेलाडी हुन् । उनले च्याम्पियन्स लिगमा ११२ गोल गरेका छन् । उनी भन्दा अघि रोनाल्डो मात्रै छन्, जसले १२६ गोल गरेका छन् ।

क्रिष्टियानो रोनाल्डोले गएको शनिबार राति भएको खेलमा क्लब फुटबलमा ६०० औँ गोल पूरा गरेका थिए । इटालियन सिरी ए फुटबल अन्तर्गत गएको शनिबार राति भएको खेलमा युभेन्टसका लागि एक गोल गरेका रोनाल्डोले क्लब प्रतिस्पर्धामा ६०० गोलको आँकडा पूरा गरेका थिए ।

रोनाल्डोले युभेन्टसका लागि २७ तथा स्पोर्टिङ्ग लिस्बोनका लागि पाँच गोल गरेका छन् । म्यानचेस्टर युनाइटेडबाट ११८ गोल गरेका रोनाल्डोले रियल मड्रिडबाट ४५० गोल गरेका छन् ।

Comments

comments