काठमाडौं । युवा संगीतकार बिज्र बज्रचार्यको निधन भएको छ ।

लामो समयदेखि थलिनुभएका बज्रचार्यको उपचारको क्रममा आज अपरान्ह काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको हो । उहाँको पार्थिव शरीर अझै अस्पतालमै रहेको अर्का संगीतकार हरि लम्सालले जानकारी दिनुभयो । उहाँको जन्म २०२८ सालमा गुल्मीको वामी टक्सारमा भएको थियो । पिता जुठाराज र आमा लक्ष्मीदेवीको उहाँ माहिलो सन्तान हुनुहुन्थ्यो ।

२०४९ सालमा रेडियो नेपालमा स्वर परीक्षण पास गरे पछि संगीत क्षेत्रमा व्यवसायिक रूपले लाग्नुभएका बज्रचार्यले पन्ध्र सयभन्दा बढी गीतमा संगीत सिर्जना गर्नुभएको छ । उहाँका सुगम पोखरेलको स्वरमा रहेको तिमी म भन्दा कोसौँ टाढा छौ, कर्णदासको स्वरमा रहेको बिस्तारै छायो आँखामा अँध्यारो आगन्तुक खरेलको स्वरमा रहेको कुन रङको कमी थियो र सानु रेशमा सुनुवारको स्वरमा रहेको मै ठुली भइछु रे लगायतका गीतहरु उहाँको बहुचर्चित गीत मानिन्छन् ।

काठमाडौंको बबरमहलमा परिवारका साथ बस्दै आउनुभएका बज्रचार्यको श्रीमती, दुई छोरा र एक छोरी छन् । उहाँ मुटुको रोगी हुनुहुन्थ्यो ।

Comments