काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि बन्द भएको २४ मिनेटपछि ड्रागन एयरले उडान भरेको छ ।

विमानस्थल रनवे स्तरोन्नतिका लागि अप्रिल १ तारिखदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गर्ने सूचना जारी गरिएको भएपनि गएराति १० बजेर २४ मिनेटमा ड्रागन एयरको विमान उडेको हो । यसअघि नेपाल वायुसेवा निगमको विमान केही समयअघि राति १० बजिसकेको भन्दै उडान अनुमति दिइएको थिएन । राति १० बजेदेखि मर्मत सम्भारको काम सुरु हुनुपर्नेमा ड्रागन एयरको विमान उडिसकेपछि मात्र कामदारहरु रनवेतर्फ गएका थिए ।

रनवे स्तरोन्नतिको काम गरिरहेको चिनियाँ कम्पनी एभिकले वर्किङ आवरमा ढिलाइ भएको मिनेट मिनेटको हिसाब राखेर क्लेम गर्ने गरेको क्यानका एक उच्च पदाधिकारीले जानकारी दिएका छन् । विमानस्थल बन्द हुने अवधिबारे जारी गर्ने सूचनालाई नोटाम (नोटिस टु एयरमेन) भनिन्छ ।

नोटाम वायुसेवा कम्पनीको वस्तुस्थिति बुझेर नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको निर्णय अनुसार घटाउने बढाउने गरिँदै आएको विमानस्थल स्रोतले जनाएको छ ।

Comments