काठमाडौं । कर्मचारी समायोजनका विषयमा असहमति राख्दै आन्दोलनरत सरकारी डाक्टरका माग पुरा गर्न सरकारले मागेको समय आजबाट सकिँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चैत ३० गते शनिबार भएको वार्तामा सरकारले वैशाख १५ गतेसम्मको समय माग गरेको थियो । त्यसअनुसार सरकारी चिकित्सक संघ (गोदान)ले आन्दोलनका कार्यक्रम स्थगन गरेको थियो ।

तर १५ दिनको यो अवधिमा सरकारी डाक्टरका प्रतिनिधीलाई स्वास्थ्य मन्त्रालयबाट माग पुरा गर्ने विषयमा कुनै पनि जानकारी नदिइएको र छलफल समेत नभएको गोदानका उपाध्यक्ष डा सुनिल पौडेलले जानकारी दिनुभयो । गोदानले माग पुरा नभए पुन आन्दोलन गर्ने चेतावनी समेत दिइसकेको छ ।

माग पुरा नभए गोदानको बैठक बसेर अगाडिका कार्यक्रमहरुको निर्णय हुने उपाध्यक्ष पौडेलले बताउनुभयो । चैत ३० गते भएको छलफलमा मन्त्रालयका प्रतिनिधीले कानुनी रुपमा यो विषयलाई टुंग्याउनु पर्ने भएकाले १५ दिनको समय माग गरेका थिए । डाक्टरहरुले संघीय संरचना अनुसार चिकित्सकलाई संघ अन्तर्गत राखेर विशेषज्ञताका आधारमा आवश्यकता अनुसार देशको जुनसुकै स्वास्थ्य संस्थामा खटाउन माग गरेका छन् ।

Comments