काठमाडौं । नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २० औं स्मृति दिवस, मुलुकभर विभिन्न कार्यक्रम गरी सम्झना गरिँदैछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मनमोहनको स्मृति कार्यक्रम आयोजना गरेको छ । मनमोहन अधिकारी स्मृति प्रतिष्ठानमा बिहान हुने कार्यक्रममा प्रधानमन्त्री केपी ओली सहभागी हुनुहुनेछ ।
.
गरिब निमुखा नेपालीको ह्रदयमा बस्न सफल, इमान र निष्ठाका पर्याय बन्नु भएका अधिकारीको २०५६ सालको संसदीय निर्वाचनको क्रममा वैशाख १३ गते निधन भएको थियो ।

देश र नागरिकको लागि राजनीति गरेको दाबी गरे पनि आफ्ना निहीत स्वार्थबाट माथि उठ्न नसक्दा सयौं व्यक्ति इतिहासबाट हराएका छन् । तर, नेपालको राजनीतिक इतिहासका मनमोहन अधिकारी त्यस्ता व्यक्तित्व हुन्, जसलाई आम नागरिकले श्रद्धाभावले सम्झने गर्छन् ।

राणा विरोध आन्दोलनदेखि नै राजनीतिमा सक्रिय अधिकारीलाई नेपाली राजनीतिमा निष्ठा र इमानका प्रतीकका रुपमा लिने गरिन्छ । २०५१ सालमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुनुभएका अधिकारीले गरेका कामले नै उहाँलाई अविस्मरणीय बनाएको हो । ‘आफ्नो गाउँ आफैं बनाऔ’ भन्ने कार्यक्रम ल्याएर उहाँले तत्कालीन समयमा हरेक गाविसमा तीनरतीन लाख रुपैयाँ पठाउनुभयो । जसले विकासका लागि सदरमुकाम अनि सिंहदरबार नै धाउनुपर्ने बाध्यता तोडियो । नागरिकले आफ्नो गाउँको विकासका लागि आफैले खर्च गर्न पाउने भएपछि विकासको लहर नै आयो । जुन कार्यक्रम अहिले पनि निरन्तर चलेको छ ।

प्रधानमन्त्री हुँदा अधिकारीले गरेको अर्को लोकप्रिय काम हो वृद्धाभक्ता । यसले काम गरेर खान नसक्ने ज्येष्ठ नागरिकको ओठमा खुशी ल्याएको छ । वृद्धाभक्ताको व्यवस्था सामाजिक सुरक्षाका क्षेत्रमा दक्षिण एसियाकै पहिलो प्रयोग थियो ।

९ महिनामा प्रधानमन्त्री हुनुभएका अधिकारीले पारदर्शिता, मितव्ययितालाई उच्च महत्व दिनुभएको थियो । आफ्नो व्यक्तिगत खर्चसमेत कटाएर उहाँले राज्य कोषमा रकम फिर्ता गर्नुभएको थियो । अल्पमतको ९ सदस्यीय सरकारको नेतृत्व गरेर उहाँले नागरिकको मन जित्नुभएको थियो । जसलाई इतिहासकै प्रभावकारी मन्त्रीपरिषद्का रुपमा समेत लिने गरिन्छ । त्यही मन्त्रिपरिषदमा गृहमन्त्री रहनुभएका केपी शर्मा ओली अहिले प्रधानमन्त्री हुनुहुन्छ ।

अधिकारीले प्रधानमन्त्री हुँदा भारतसँग १९५० को सन्धि पुनरावलोकनका लागि प्रस्ताव गर्नुभएको थियो । त्यसपछि कुनै पनि प्रधानमन्त्रीले त्यो आँट गर्न सकेका छैनन् । भूमिहीनलाई जग्गा वितरण, महंगी नियन्त्रण, नौ ‘स’को अभियान चलाएर मनमोहन सरकारले नागरिकको मन जितेको थियो ।

ठूलो मान्छे भन्दा पनि असल मान्छे बन्ने इच्छाका कारण अधिकारी नागरिकको हृदयमा बस्न सफल हुनुभएको एमाले नेता मावधकुमार नेपाल बताउनुहुन्छ । नेता नेपाल नौ महिने सरकारमा उपप्रधानमन्त्री, परराष्ट्र र रक्षामन्त्री हुनुहुन्थ्यो ।

Comments